• ८ जेठ २०८१, मङ्गलबार

बसबाट लडेर युवकको मृत्यु

blog

फाइल तस्बिर

जनार्जन खत्री 

सर्लाही, साउन १५ गते । सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार बसबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिकाको सुदामा गाउँबाट सदरमुकाम मलङ्गवा आउँदैगरेको ग १ ख ९४५२ नम्वरको बसबाट लडेर कौडेना गाउँपालिका –३, बस्ने ३५ वर्षीय चन्दन चौधरीको मृत्यु भएको हो । 

सदरमुकाम मलङ्गवा नगरपालिका –२, स्थित बसपार्कमा बसबाट ओर्लिने क्रममा चौधरीले लगाएको सर्ट ढोकामा अल्झिँदा लडेर गम्भीर घाइते हुनुभएको थियो । घाइते चौधरीको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि प्रहरीले बस नियन्त्रणमा लिए पनि चालक फरार रहेको प्रहरीले जनाएको छ । 

यसैबीच, सोही बस सुदामाबाट मलङ्गवातर्फ आउनेक्रममा बसभित्र यात्रा गरिरहनुभएका एक जना ज्येष्ठनागरिक सिटको डण्डीमा ठोक्किएर घाइते हुनुभएको छ । बस कौडेना गाउँपालिका –२, स्थित लखन्देही पुल नजिक आइपुग्दा खाल्डोमा परेर बस हल्लिँदा बसमा सवार गोडैता नगरपालिका –६, बस्ने ६५ वर्षीया ईश्वरवती देवी घाइते हुनुभएको हो । 

सिटको फलामे डण्डीमा ठोक्किँदा उहाँको बायाँ कुमको हड्डी भाँचिएको छ । उहाँको खुट्टामा पनि चोट लागेको प्रहरीले जनाएको छ । घाइते ईश्वरवती देवीको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।