• ७ जेठ २०८१, सोमबार

भूकम्प पीडितको उद्धारका लागि सुरक्षाकर्मी तैनाथ : क्षतिको विवरण सङ्कलन गर्न गृहमन्त्रीको निर्देशन

blog

गृहमन्त्री बालकृष्ण खाण । फायल तस्बिर

काठमाडौँ, साउन १५ गते । गृहमन्त्री बालकृष्ण खाणले बिहान खोटाङमा गएको ६ म्याग्निच्युडको भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिनुभएको छ । साथै सम्भावित उद्धारका लागि नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको छ । 

गृहमन्त्री खाणले खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नेपाल प्रहरीका प्रदेश १ प्रमुख नायब महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख नायब महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति र गर्नुपर्ने उद्धारबारे जानकारी लिनुभएको हो । 

घाइतेको उद्धार र घर भत्किएर बस्न नहुने भएकालाई अन्यत्र सार्ने काम यथाशक्य छिटो गर्न र जिल्ला र प्रदेशको स्रोत साधनले नपुगेमा केन्द्रमा जानकारी गराउन उहाँले प्रजिअ र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभयो । 

खोटाङका प्रमुख जिल्ला अधिकारी सेढाईका अनुसार मार्तिमबिर्ता आसपासलाई केन्द्र बनाएर भूकम्प गएको थियो । भूकम्पबाट साकेला गाउँपालिका–५ बृष्टि बस्ने विकास कटुवालको ढुङ्गा माटोको गारो भएको घर, डाडागाउँ बस्ने प्रकाश प्रधानको घरको छानामा रहेको टायल झरेको छ । 

यसैगरी, हलेसीतुवाचुङ नगरपालिका ९ सल्ले बस्ने धुर्ब पौडेलको ढुङ्गा माटोको गारो भएको घर सामान्य चर्केको र सोही नगरपालिका ७ का सयङ्खुका गङ्गा राईको घर चर्किएको खोटाङ प्रहरीले जनाएको छ । राई घर चर्किएर बस्न नसक्ने भएपछि आफ्नो भाइको घरमा बसेको प्रहरीले जनाएको छ । 

अहिलेसम्म क्षतिको पूर्ण विवरण नआएको र क्षति पुगे नपुगेकोबारे बुझ्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको प्रजिअ सेढाईले बताउनुभयो ।