• २५ असार २०८१, मङ्गलबार

ध्यान केन्द्र निर्माण सुरु

blog

दोलखा समाचारदाता

चरीकोट, साउन १५ गते ।  दोलखाको भीमेश्वर नगरपालिका–१ मा पौराणिक कला संस्कृति झल्काउने गरी कलात्मक रूपमा क्षमावती कुटी खप्तड बाबा योग ध्यान केन्द्र निर्माण सुरु गरिएको छ। 

करिब आठ दशकअघि बनेको यो केन्द्र भूकम्पले भत्केपछि ढिलै भए पनि पुनर्निर्माण सुरु भएको निर्माण समिति कोषाध्यक्ष मुकुन्द शिवाकोटीले जानकारी दिनुभयो। उहाँका अनुसार वि.सं. २००१ देखि २००२ सम्म खप्तड बाबा यहाँ रहनु भई उहाँले नै कुटी निर्माण गर्नुभएको थियो। भूकम्पले कुटी भत्केपछि उहाँकै स्मृतिमा श्री क्षमावती कुटी खप्तड बाबा योग ध्यान केन्द्र निर्माण सुरु गरिएको हो। 

बहुवर्षीय योजनाअनुसार आर्थिक वर्ष २०७७/७८ मा भीमेश्वर नगरपालिकाको र बागमती प्रदेश सरकारबाट आएको ११ लाख २० हजार र आव २०७८/७९ मा सहरी विकासको ३६ लाख ७३ हजार रुपियाँमा भवनको संरचना निर्माण भएका जानकारी दिँदै उहाँले भन्नुभयो, “संरचना जोगाउन तत्कालका लागि प्लास्टिकले छानो छोप्न लागिएको छ ।  हिउँदमा जिल्लामै पाउने स्लेट ढुङ्गाले छानो छाउने सोच रहेको छ।” भीमेश्वर नगरपालिकाले निर्माण गरिदिएको गुरुयोजनाअनुसार ९० लाख रुपियाँ बराबरको काम हुनपर्ने देखिन्छ। उहाँले भन्नुभयो, “दुई तलाको यो भवनलाई कलात्मक बनाउने काम बाँकी छ। खानेपानी, बिजुलीलगायतका काम पनि बाँकी नै छन्। 

यहाँ रहेका राम, कृष्ण, शिव मन्दिरलगायतका मन्दिर, कम्पाउन्ड वाल, गेटलगायतका सम्पूर्ण संरचना निर्माण गर्न नौ करोड रुपियाँ लाग्ने गुरुयोजनाले देखाएको छ। यसका लागि आर्थिक सहयोग जुटाउन समिति लागिपरेको बताइन्छ।