• ४ साउन २०८१, शुक्रबार

विद्युतीकरणको काम रोक्न आग्रह

blog

कलैया समाचारदाता 

बारा, साउन १३ गते । बाराको चारकोसे जङ्गलभित्र रहेको टाँगिया बस्तीमा विद्युत् प्राधिकरणले गरिरहेको विद्युतीकरण तत्काल रोक्न बारा–पर्सा वन प्राविधिक सङ्घले माग गरेको छ। अतिक्रमण भएको टाँगिया बस्तीक्षेत्र समेटेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार लगत लिने कार्य सम्पन्न भइसकेको भन्दै बिहीबार कलैयामा आयोजित पत्रकार सम्मेलनमा बारा–पर्सा वन प्राविधिक सङ्घका अध्यक्ष राजदेवप्रसाद यादवले विद्युतीकरण रोक्न आग्रह गरिएको बताउनुभयो।

अतिक्रमित टाँगिया बस्तीलगायतका क्षेत्रमा विमानस्थल निर्माण हुने कुराको जानकारी हुँदाहुँदै सो क्षेत्रमा विद्युतीकरण गर्नु वन ऐन विपरीतको कार्य भएको हुँदा संस्थाको गम्भीर ध्यानाकर्षण भएको उहाँले भन्नुभयो। “२०२९ सालमा तामागढीमा भएको अतिक्रमण हटाई तत्कालिन वन डिभिजन कार्यालय वीरगञ्जको अगुवाईमा वृक्षरोपण कार्य योजना बनाई टाँगिया व्यवस्थाअन्तर्गत २०३२ सालदेखि वृक्षरोपण गर्ने कार्य सुरु गरिएको थियो,” उहाँले भन्नुभयो।

सो वृक्षरोपण क्षेत्रमा काम गर्ने ज्यालादारी मजदुर २० घरपरिवारलाई एक/एक बिघाका दरले वृक्षरोपण क्षेत्र उपलब्ध गराइएको थियो। सो क्षेत्रमा कोसेबाली मात्र लगाउने तथा रोपण गरिएका बिरुवाको रेखदेख र संरक्षण गर्ने सर्तमा उनीहरूलाई जग्गा उपलब्ध गराइएको थियो। अहिले राजनैतिक संरक्षण र पहुँचवालाको आडमा जङ्गल फँडानी गर्ने र टाँगिया क्षेत्रमा बस्ती बस्ने क्रम सुरु भएको सङ्घका अध्यक्ष यादवले बताउनुभयो।

टाँगिया क्षेत्रले सात सय बिघा क्षेत्रफल ओगटेको छ। जसमा एक हजार ४७६ घरधुरीको बसोबास रहेको छ। उहाँले भन्नुभयो, “उक्त टाँगिया क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रको योजनामार्फत बाटो निर्माण, स्कुल, बजार व्यवस्थापन तथा नगदेबाली खेती हुने गरेको छ। अहिले सहरीकरण हुँदै गएको छ।”   

जङ्गल मासेर बस्ती बसाल्नु वन ऐन विपरीत रहेकोले सम्बन्धित निकायसँग सङ्घले माग गरेको सह–सचिव गौरीशङ्करप्रसाद केशरीले बताउनुभयो। अनाधिकृत बस्ती हटाइ चाँडो विमानस्थल निर्माण गर्न सङ्घले माग गरेको छ।