• ४ साउन २०८१, शुक्रबार

नागरिकता विधेयकको विरोध गर्नु गलत : नेता निधि

blog

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता बिमलेन्द्र निधि । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, साउन १२ गते । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बिमलेन्द्र निधिले नागरिकता विधेयकको विरोध गर्नु साम्प्रदायिक मानसिकता भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन सर्लाही शाखाले बिहीबार हरिवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता निधिले त्यस्तो बताउनुभयो ।

प्रतिनिधि सभाबाट पारित विधेयकको साम्प्रदायिक सोच भएकाहरुले मात्रै विरोध गरिरहेको उहाँले टिप्पणी गर्नुभयो । राष्ट्रिय सभाबाट पनि विधेयक छिटो पारित गरी  नागरिकता विहीन नागरिकलाई नागरिकता पाउने बाटो खोल्न आवश्यक रहेको उहाँले बताउनुभयो ।  

केही व्यक्तिले नागरिकता विधेयकलाई साम्प्रदायिक रुप दिएर राजनीति गर्न खोजेका छन् उहाँले भन्नुभयो, “वैवाहिक अङ्गिकृतको हकमा संविधानले जे व्यवस्था गरेको छ, सोहीअनुसार हुनुपर्छ ।”  

फरक प्रसङ्गमा कांग्रेस नेता निधिले आगामी मङ्सिरको पहिलो हप्ताभित्रै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने बताउनुभयो । अहिलेको गठवन्धन आगामी चुनावसम्मै कायम रहने पनि उहाँको दावी छ ।  

गठवन्धनमा अन्य एक दुई दल समेत थपिन सक्ने उहाँले बताउनुभयो । त्यसका लागि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठवन्धनभित्रका दल र अन्य दलसँग संवाद गरिरहनुभएको निधिले जानकारी दिनुभयो । 

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि कांग्रेसले लोकप्रिय मत ल्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेता निधिलगायत कांग्रेसका अन्य नेताहरुले बिहीबार नै सदरमुकाम मलंगवामा आयोजित प्रजातन्त्र सेनानी तथा कांग्रेसका पुराना नेता स्व. धीरेन्द्रकुमार श्रेष्ठको श्रद्धाञ्जलि सभालाई सम्वोधन गर्नुभयो ।