• १२ वैशाख २०८१, बुधबार

नदी कटान बढ्दो, गलेश्वर क्षेत्रका धार्मिक स्थल जोखिममा

blog

कालिगण्डकी र रघुगंगा नदी कटानको जोखिममा रहेको राममन्दिर । तस्विर ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन १२ गते । कालिगण्डकी र रघुगंगा नदीको संगमस्थलमा रहेका धार्मिकस्थल नदी कटानका कारण जोखिममा परेका छन् । मुक्तिनाथ मन्दिरको प्रवेशद्धारका रुपमा रहेका गलेश्वर क्षेत्रमा पर्ने गायत्री मन्दिर र राममन्दिर नदी कटानको उच्च जोखिममा परेका हुन । वर्षेनी नदीमा आउने वाढीका कारण मन्दिर परिसर कटान हुँदै जान थालेको छ । 

नदीको कटानबाट जोगाउन नसक्दा धार्मिक स्थलको पहिचाननै मेटिने जोखिम बढेको छ । रघुगंगा गाउँपालिका ३ स्थित तिल्केनी चौरमा रहेको गायत्री मन्दिर र पर्वतको जलजला गाउँपालिका २ स्थित राममन्दिर नदी कटानको उच्च जोखिममा परेका छन् । 

दुईवर्ष अघि रघुगंगा र कालिगण्डकी नदीमा आएको बाढीले राममन्दिर कटान गरेको थियो । नदीमा आएको बाढीले मन्दिर परिसरमा ५० लाख रुपियाँ लागतमा निर्माण गरिएको तिर्थयात्री आश्रम भवन भत्किएको थियो । यसका साथै नदीले मन्दिरलाई समेत कटान गरेको छ । जोखिममा परेको एतिहासिक मन्दिर संरक्षणको पहल कहिकतैबाट हुनसकेको छैन ।   

वर्षात्का समयमा नदीमा पानीको सतह बढेर आउने हुँदा मन्दिर परिसरमा वस्न जोखिम बढेको मन्दिरका साधुमहन्त केशवदास ब्रहमचारीले बताउनुभयो । प्रत्येक वर्ष मन्दिर परिसरलाई नदीले कटान गर्दै आएको छ । नदीकटान नरोकिदा मन्दिर नै बगाउने खतरा बढेको उहाँले बताउनुभयो । मन्दिरको छेवैमा नदी आइपुगेको छ उहाँले भन्नुभयो ‘संरक्षणका लागि पहल भएन भने ठूलो बाढी आउँदा मन्दिर नदीले बगाउँछ ।’ वर्षातका समयमा बस्न निकै जोखिम छ तर जोखिम मोलेर बस्न बाध्य छौं उहाँले भन्नुभयो । 

मन्दिर नजिक कालिगण्डकी नदी आइपुगेको छ उहाँले भन्नुभयो ‘पुरानो धार्मिक स्थल जोगाउन सम्बन्धित निकायले ध्यान दिनुप¥यो ।’ ठूलो पानी परेका बेला रातमा जाग्राम वस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । ‘कतिबेला नदीले बगाउँला जस्तो हुन्छ,पानी परेका बेला यहाँ वस्न सकिदैन मन्दिरका साधुमहन्त ब्रहमचारीले भन्नुभयो ‘दुईवर्ष अघिको बाढीले आश्रम बगायो अहिले मन्दिर नै जोखिममा परेको छ  । नदीले निरन्तर कटान गरिरहेको छ । संरक्षणको पहल कहि कतैबाट भएन ।’ 

मुक्तिनाथ दर्शनका लागि आउने भक्तजनहरु राममन्दिरको दर्शनका लागि आउने गरेको उहाँले बताउनुभयो । गलेश्वर धाम देखि पारिपट्टी रहेको यो मन्दिर पुरानो एतिहासिक मन्दिर हो । यहाँ रामनवमीका दिन भक्तजनहरु दर्शनका लागि आउने गर्दछन् । नदी कटानबाट मन्दिरलाई जोगाउन तटबन्धनको योजना अघि सारिएको जलजला गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रकाश जिसीले बताउनुभयो । धार्मिक स्थलको संरक्षणका लागि प्रदेश सरकारसँग बजेट माग गर्ने योजना वडाले बनाएको उहाँको भनाई छ ।

नदी कटानबाट मन्दिरलाई जोगाउन नदी किनारमा पक्की तटबन्धन नै निर्माण गर्नुपर्ने भएकाले योजना बनाएर प्रदेश सरकारसँग माग गरिने उहाँको भनाई छ । यसैगरी नदी कटानले गायत्री मन्दिर पनि जोखिममा परेको छ । रघुगंगा नदी र कालिगण्डकी नदी किनारमा अवस्थित गायत्री मन्दिर संरक्षणको पहल नहुँदा मन्दिर कटानको जोखिममा परेको हो । गलेश्वर क्षेत्रमा पर्ने धार्मिक स्थलको संरक्षण गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने स्थानीयवासीहरुको भनाई छ ।

Author

ठाकुरप्रसाद आचार्य