• १० वैशाख २०८३, बिहिबार

परिवर्तनका अवरोधक

blog

समाज कुनै स्थिर र जड संरचना होइन्, यो निरन्तर परिवर्तनशील, गतिशील र बहुआयामिक प्रक्रिया हो । मानव सभ्यताको इतिहासलाई हेर्दा स्पष्ट देखिन्छ कि समय, परिस्थिति, ज्ञान, प्रविधि र चेतनाको विकाससँगै समाज पनि बदलिँदै आएको छ । आदिम युगदेखि आधुनिक सूचना प्रविधिको युगसम्म आइपुग्दा समाजले अनेक चरण पार गरेको छ तर यो परिवर्तन सधैँ सहज र सिधा रेखामा भएको छैन । प्रत्येक चरणमा परिवर्तनका पक्षमा उभिने शक्ति र त्यसलाई अवरुद्ध गर्ने शक्तिबिच निरन्तर सङ्घर्ष चलिरहेको देखिन्छ । यही सङ्घर्षले समाजलाई कहिले अगाडि बढाउँछ भने कहिले पछाडि धकेल्छ ।

इतिहासमा दासप्रथा, सामन्तवाद र उपनिवेशवाद जस्ता संरचना समाज परिवर्तनका प्रमुख बाधकका रूपमा रहेका छन् । दासप्रथाले मानिसलाई वस्तुका रूपमा प्रयोग ग¥यो । सामन्तवादले जमिन र शक्तिलाई सीमित वर्गमा केन्द्रित ग¥यो । उपनिवेशवादले राष्ट्रको आत्मनिर्णय अधिकारलाई कुचल्ने काम ग¥यो । यी संरचनाका विरुद्धमा भएका आन्दोलनले समाजलाई नयाँ दिशातर्फ डो¥याए तर ती आन्दोलन सजिलै सफल भएका थिएनन् । त्यसैले इतिहासले सिकाउँछ कि परिवर्तनको बाटो सधैँ सङ्घर्षपूर्ण हुन्छ र बाधक तìव गहिरो जरा गाडेर बसेका हुन्छन् ।

समाज परिवर्तनको पहिलो र सबैभन्दा शक्तिशाली बाधा परम्परागत सोच र रूढिवादिता हो । जब मानिस पुराना मूल्य, मान्यता र अभ्यासलाई नै अन्तिम सत्य ठान्छन् तब नयाँ विचारलाई अस्वीकार गरिन्छ । मानसिकता समाजलाई अतीतमा बाँधेर राख्ने सबैभन्दा ठुलो जाल हो । नेपालकै सन्दर्भमा हेर्दा छुवाछूत, जातीय विभेद, दास र सतीप्रथा, महिलामाथिको असमान व्यवहार जस्ता प्रथा लामो समयसम्म यही मानसिकताका कारण टिकिरहे । यस्ता सोचले केवल सामाजिक न्यायलाई अवरुद्ध गर्दैन्, यसले सिर्जनशीलता र नवप्रवर्तनलाई पनि दबाउँछ ।

यससँगै शिक्षा र चेतनाको अभाव अर्को गहिरो समस्या हो । शिक्षा केवल साक्षरता मात्र होइन्, यो आलोचनात्मक सोच, प्रश्न गर्ने क्षमता र तर्क गर्ने सामथ्र्य हो । जहाँ शिक्षा कमजोर हुन्छ, त्यहाँ अन्धविश्वास, भ्रम र गलत सूचनाले सहजै ठाउँ पाउँछन् । उदाहरणका रूपमा मध्ययुगीन युरोपमा विज्ञानभन्दा धर्माधारित सोच हावी हुँदा वैज्ञानिक आविष्कारलाई दमन गरिएको थियो । नेपाल जस्तो विकासोन्मुख समाजमा पनि गुणस्तरीय शिक्षाको अभावले मानिसलाई आफ्नो अधिकारबारे सचेत हुनबाट रोकिरहेको छ । चेतनाको कमीले परिवर्तनको आवश्यकता नै महसुस हुन दिँदैन ।

आर्थिक असमानता समाज परिवर्तनको अर्को गम्भीर बाधा हो । जब सम्पत्ति र स्रोत केही सीमित व्यक्तिको हातमा केन्द्रित हुन्छ तब शक्ति पनि त्यहीँ सीमित हुन्छ । शक्तिशाली वर्गले आफ्नो प्रभुत्व कायम राख्न परिवर्तनलाई रोक्ने प्रयास गर्छ । इतिहासमा औद्योगिक क्रान्तिको प्रारम्भिक चरणमा मजदुर वर्गको शोषण यसको उदाहरण हो । नेपालमा पनि भूमिसम्बन्धी असमानता, स्रोतको असन्तुलित वितरण र गरिबीले ठुलो जनसङ्ख्यालाई दैनिक जीवन धान्नमै व्यस्त बनाएको छ । यस्तो अवस्थामा उनीहरू परिवर्तनका लागि सङ्गठित हुन सक्दैनन् ।

राजनीतिक अस्थिरता र कमजोर नेतृत्वले पनि समाज परिवर्तनलाई गम्भीर रूपमा प्रभावित पार्छ । जब शासन प्रणाली पारदर्शी, उत्तरदायी र जनमुखी हुँदैन् तब नीति निर्माण र कार्यान्वयन दुवै कमजोर हुन्छन् । नेपालको राजनीतिक इतिहासमा बारम्बार सरकार परिवर्तन, अस्थिरता र शक्ति सङ्घर्षले विकास र सुधारका प्रक्रियालाई अवरुद्ध गरेको देखिन्छ । नेतृत्वमा दूरदृष्टि, नैतिकता र प्रतिबद्धताको अभाव हुँदा परिवर्तनका एजेन्डा भाषण र नारामा सीमित रहन्छन् । यसले जनतामा निराशा र अविश्वास पैदा गर्छ । सामाजिक र सांस्कृतिक विभाजन पनि परिवर्तनको ठुलो अवरोध हो । जात, धर्म, भाषा, क्षेत्र र पहिचानका आधारमा हुने विभाजनले समाजलाई टुक्य्राउँछ । इतिहासमा यस्ता विभाजनले धेरै द्वन्द्व र हिंसालाई जन्म दिएका छन् । नेपालमा पनि पहिचानको राजनीति, क्षेत्रीय असन्तुलन र सांस्कृतिक असमानताले सामाजिक एकतालाई चुनौती दिएको छ जब समाज एकताबद्ध हुँदैन् तब परिवर्तनका लागि आवश्यक सामूहिक शक्ति कमजोर हुन्छ ।

अन्धविश्वास र अवैज्ञानिक सोचले समाजलाई पछाडि तान्ने अर्को महत्वपूर्ण पक्ष हो । जब मानिस प्रमाणभन्दा मिथकमा विश्वास गर्छन् तब वैज्ञानिक सोच विकास हुन सक्दैन । उदाहरणका लागि स्वास्थ्य क्षेत्रमा अन्धविश्वासले मानिसलाई आधुनिक उपचारबाट टाढा राख्न सक्छ । यसले केवल व्यक्तिगत स्वास्थ्यलाई मात्र होइन्, समग्र समाजको विकासलाई पनि प्रभावित गर्छ । वैज्ञानिक दृष्टिकोणबिना समाज प्रगतिशील बन्न सक्दैन । मनोवैज्ञानिक पक्ष पनि परिवर्तनको एउटा सूक्ष्म तर प्रभावशाली बाधा हो । परिवर्तनप्रतिको डर, असुरक्षा र अनिश्चितताले मानिसलाई नयाँ कुरा स्वीकार गर्नबाट रोक्छ । पुरानै र परम्परा नै ठिक छ भन्ने मानसिकता सुरक्षित लागे पनि यसले समाजलाई स्थिर र जड बनाउँछ । इतिहासमा धेरै सुधार आन्दोलनले प्रारम्भमा विरोधको सामना गरेका थिए तर समयसँगै ती नै आवश्यक र उपयोगी साबित भए ।

संस्थागत कमजोरी पनि समाज परिवर्तनको प्रमुख अवरोध हो । जब राज्यका संस्था जस्तै न्यायपालिका, प्रशासन र सार्वजनिक सेवा प्रणाली प्रभावकारी हुँदैनन् तब कानुनको कार्यान्वयन कमजोर हुन्छ । यसले भ्रष्टाचार बढाउँछ र नागरिकको विश्वास घटाउँछ । सशक्त र उत्तरदायी संस्थाबिना कुनै पनि सुधार दिगो हुन सक्दैन । सूचना र सञ्चार माध्यमको दुरुपयोग आजको युगमा थप जटिल चुनौती बनेको छ । डिजिटल युगमा सूचना छिटो फैलिन्छ तर गलत सूचना अझ छिटो फैलिन सक्छ । अफवाह, प्रचार र पक्षपाती समाचारले समाजलाई भ्रमित बनाउँछ । यसले सामाजिक विभाजन बढाउँछ र निर्णय प्रक्रियालाई कमजोर बनाउँछ । सूचना शक्ति हो तर यसको दुरुपयोगले समाजलाई गलत दिशामा लैजान सक्छ ।

वैश्वीकरण र बाह्य प्रभावले पनि समाज परिवर्तनमा मिश्रित प्रभाव पार्छ । यसले नयाँ अवसर, प्रविधि र विचार ल्याउँछ तर यसले स्थानीय संस्कृति र पहिचानमा दबाब पनि सिर्जना गर्न सक्छ । नेपाल जस्तो विविधतायुक्त समाजमा यदि वैश्वीकरणलाई सन्तुलित रूपमा व्यवस्थापन गर्न सकिएन भने सांस्कृतिक द्वन्द्व र असमानता बढ्न सक्छ । लैङ्गिक असमानता पनि समाज परिवर्तनको महìवपूर्ण बाधा हो । महिलालाई शिक्षा, रोजगारी र निर्णय प्रक्रियामा समान अवसर नदिइँदा समाजको आधा जनसङ्ख्या नै पछाडि पर्छ । इतिहासमा महिला अधिकारका आन्दोलनले ठुलो परिवर्तन ल्याएका छन् तर अझै पनि धेरै समाजमा लैङ्गिक विभेद विद्यमान छ । समानताबिना दिगो विकास सम्भव हुँदैन ।

युवाशक्ति र प्रविधिको सही प्रयोग हुन नसक्नु पनि अर्को चुनौती हो । युवा परिवर्तनका वाहक हुन् तर यदि उनीहरूलाई सही दिशा, अवसर र नेतृत्व नदिइएमा उनीहरूको ऊर्जा खेर जान सक्छ । प्रविधि पनि परिवर्तनको साधन हो तर यसको दुरुपयोगले सामाजिक विघटन ल्याउन सक्छ । यी सबै बाधक तìवको बिचमा पनि समाज परिवर्तन असम्भव भने होइन । इतिहासले देखाएको छ कि शिक्षा, चेतना, समानता, वैज्ञानिक सोच, सशक्त नेतृत्व र सामाजिक एकताको माध्यमबाट परिवर्तन सम्भव हुन्छ । उदाहरणका रूपमा लोकतान्त्रिक आन्दोलन, मानव अधिकारको विकास र सामाजिक सुधारका प्रयासले समाजलाई नयाँ उचाइमा पु¥याएका छन् ।

समाज परिवर्तन कुनै एक व्यक्ति वा समूहको मात्र जिम्मेवारी होइन । यो सामूहिक प्रयास, निरन्तर सङ्घर्ष र आत्ममूल्याङ्कनको प्रक्रिया हो । जब समाजले आफ्ना कमजोरी पहिचान गर्छ, आलोचनात्मक रूपमा मूल्याङ्कन गर्छ र सुधारका लागि प्रतिबद्ध हुन्छ तब मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ । त्यसैले समाज परिवर्तनको बाटो चुनौतीपूर्ण अवश्य छ तर असम्भव छैन । बाधक तìव गहिरा र जटिल भए पनि मानव चेतना, ज्ञान र सामूहिक प्रयास अझ शक्तिशाली छन् । सही दिशा, दृढ इच्छाशक्ति र समावेशी सोचका साथ अगाडि बढ्दा समाजले आफ्ना सबै अवरोध पार गर्न सक्छ र न्यायपूर्ण, समतामूलक र प्रगतिशील भविष्य निर्माण गर्न सक्छ ।