गजेन्द्र गुरुङ
खजुरा, वैशाख १० गते । बाँकेको कोहलपुरमा प्रथम कोहलपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । कोहलपुर ब्याडमिन्टन क्लब कोहलपुरको आयोजनामा आगामी वैशाख ११ देखि १३ गतेसम्म कोहलपुर नगरपालिका वडा नम्बर १४ स्थित हवल्दापुर कभर्ड हलमा उक्त प्रतियोगिता सञ्चालन गरिने बुधबार साँझ पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
क्लबका अध्यक्ष चण्डीप्रसाद गैरेले ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसात् गर्दै कोहलपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलकुदका माध्यमबाट अझै चिनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो ।
खेलकुद क्षेत्रको समग्र विकास, युवाहरुको प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने पनि प्रतियोगिताको उद्देश्य रहेको उहाँको भनाइ छ । प्रतियोगितामा स्थानीयदेखि राष्ट्रिस्तरसम्मका खेलाडीहरुको उल्लेखनीय सहभागिता रहने उहाँले बताउनुभयो ।
प्रतियोगिताले खेलाडीहरुबिच खेल भावना अभिवृद्धि गरि स्वस्थ प्रतिस्पर्धा हुनुका साथै कोहलपुरलाई खेलकुदको उदीयमान केन्द्रका रुपमा स्थापित गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको उहाँले बताउनुभयो
मेन्स डबल्स (खुलातर्फ) प्रथमलाई ७५ हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई १५/१५ हजार, मेन्स डबल्स ‘बी’ लेभल (खुलातर्फ) प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई १५/१५ हजार, भेट्रान्स डबल्स ४५ वर्षमाथि (खुलातर्फ) प्रथमलाई ४० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १०/१० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी, मेन्स डबल्स (बाँके जिल्लास्तरीय) प्रथमलाई ३५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई पाँच/पाँच हजार, मेन्स डबल्स (कोहलपुर नगरपालिकास्तरीय) प्रथमलाई ३५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई पाँच/पाँच हजार रुपियाँ पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
प्रतियोगिताले युवा सहभागितामा वृद्धि, स्वस्थ समाज निर्माण, सामाजिक एकता तथा स्थानीय खेलकुद विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास गरिएको आयोजकले जनाएको छ ।