• ३ साउन २०८१, बिहिबार

चलचित्र ‘पानीफोटो’ द्वन्द्वले पारेको असर

blog

लेखक तथा कलाकार खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा बनेको चलचित्र हो ‘पानीफोटो’ । दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’कै अनुरूपण गरिएको चलचित्र हो यो । द्वन्द्वले देश र समाजमा पारेको असर भनौँ वा त्यो समयको कथामार्फतका परिवेशलाई चलचित्रमा देखाउन खोजिएको छ। ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपतिप्रसाद,’ ‘धनपति’ ‘डमरुको डन्डीबियो’लगायतका चलचित्रमा अभिनय गरिसकेको कलाकार लामिछानेको ‘पानीफोटो’ डेब्यु निर्देशन हो।  ‘पानीफोटो’कै सेरोफेरोमा रहेर कलाकार लामिछानेसँग गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :

चलचित्रको मिति नजिकिँदै छ, कस्तो लागिरहेछ ?

म जहिले पनि सामान्य अवस्थामा रहने मान्छे भएकाले अहिले पनि त्यस्तै छु। मैले यसलाई सामान्य रूपमा लिएको छु। 

कस्तो चलचित्र हो ‘पानीफोटो’ ?

चलचित्रले नेपाली समाजलाई आफ्नो ऐना देखाउने काम गर्छ। यसले आफू, आफ्ना परिवेश र मानिसले भोगिरहेका समस्या देखाउन मद्दत गर्छ र साथै अन्यायमा परेका मानिसलाई न्याय देउ भनेर झकझक्याउने काम पनि गर्छ। 

‘पानीफोटो’ तपाईंले लेख्नुभएको नाटकलाई चलचित्रको स्वरूपमा ढाल्न कति गाह्रो भयो ?

नाटक र चलचित्र फरक विधा हुन्। मैले दुवै विधामा लामो समयदेखि काम गरिरहेकाले यी दुवै विधाका मिल्दाजुल्दा कुराले मलाई झन् सजिलो बनायो। यति धेरै लामो कुरा यहाँ व्याख्या गर्न मिल्दैन। र नाटकलाई एउटा लेखक निर्देशकले कसरी चलचित्र बनायो भन्ने कुराको बारेमा मैले पुस्तक नै लेखेको छु। त्यो छिट्टै बजारमा आउँछ। 

चलचित्रमा तपाईंको बाल्यकालको सम्झना पनि मिश्रित छ रे, हो ?

छ। मानिसले अनुभूत गरेका यस्तै साना–साना कुराले कथा भन्न प्रेरित गर्ने हुन्। मलाई पनि त्यस्तै भयो र यो कथा जन्मियो। 

‘पानीफोटो’ तपाईंको डेब्यु निर्देशकीय चलचित्र हो, लेखन र कलाकारिताबाट निर्देशनमा आउनुभएको छ, कस्तो लागिरहेछ ?

खासै त्यस्तो नयाँ कुरा त लागेको छैन। किनभने म नाटकको निर्देशक पहिल्यै थिएँ। अनि फेरि म चलचित्रमा लेखक कलाकार मात्र भएर भन्दा पनि सधैँ निर्माणमा पनि संलग्न भएँ। यो चलचित्रमा मेरो मेहनत एकदमै परेको छ, त्यसैले पनि मलाई त्यस्तो गाह्रोसाह्रो केही परेन।

नेपालमा द्वन्द्वको विषयमा धेरै चलचित्र बनिसके नि ?

मलाई त्यस्तो लाग्दैन। कथा जस्तो भए पनि चलचित्र हेर्ने दर्शक त्यसमा कसरी जोडिन्छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।