• ३ वैशाख २०८३, बिहिबार

प्रशासन कार्यालयद्वारा साेह्र हजारलाई सेवा प्रदान

blog

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, वैशाख ३ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नौ महिनाको अवधिमा साेह्र हजार बढी सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ । प्रशासन कार्यालयले पछिल्लो नौ महिनाको अवधि अर्थात चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा उक्त सङ्ख्यामा सेवाग्राहीलाई विभिन्न सेवा प्रदान गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार चैत मसान्त सम्ममा कुल १६ हजार ३२ जना सेवाग्राहीलाई सेवा प्रवाह गरिएको छ । प्रशासन कार्यालबाट प्रवाह हुने नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीसम्बन्धी र अन्य सेवा सेवाग्राहीलाई प्रदान गरिएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार यस अवधिमा प्रशासन कार्यालयले दुई हजार १७६ जनालाई नागरिकता प्रदान गरेको छ । उक्त सङ्ख्यामध्ये पाँच जनालाई वैवाहिक अङ्गीकृत र बाँकी बंशज आधारको नागरिकता सेवाग्राहीलाई उपलब्ध गराइएको हो । त्यस्तै एक हजार ७५५ जनालाई नागरिकताको प्रतिलिपि उपलब्ध गराएको प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रजिअ भट्टराईका अनुसार नौ महिनाको अवधिमा एक हजार ३८४ जनालाई राहदानी वितरण गरिएको छ । एक हजार ४३६ जनालाई राहदानीका लागि साधारण सिफारिस र ९४ जनालाई द्रूत सेवाका लागि सिफारिस उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी चालु आवको चैत मसान्त सम्ममा छ हजार ३६५ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेको प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयका अनुसार ४७८ जनालाई राष्ट्रिय परिचयत्र कार्ड वितरण गरिएको छ । त्यस्तै २४५ जनाको विवरण सच्याउने र राष्ट्रिय परिचयपत्रको रुजु विवरण हराउने एक हजार ४१४ जनाको विवरण खोजी गरिएको छ ।

प्रशासन कार्यालयले यस अवधिमा ५२ जनालाई नाबालक परिचयपत्र वितरण गरेको छ । यस्तै पाँच वटा नयाँ संस्था दर्ता, ४७ वटा सङ्घ संस्थाको नवीकरण, सात वटा हातहतियारको नवीकरण गरेको छ । यता चैत मसान्त सम्ममा प्रशासन कार्यालयमा भ्रष्टाचारसम्बन्धी मुद्दा एउटा, अभद्र व्यवहारसम्बन्धी मुद्दा २१ वटा र १२ वटा ठाडो उजुरीसमेत आएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । 

प्रशासन कार्यालयले चैत महिनामा मात्र राहदानी बनाउन आएका १६८ जना सेवाग्राहीको अनलाइन फाराम निःशुल्क भरिदिएको छ । त्यस्तै प्रशासन कार्यालय नागरिक सहायता कक्षमार्फत चैतमा ४०६ जना सेवाग्राहीलाई निःशुल्क फोटोकपी सेवा उपलब्ध गराएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयले पछिल्लो समय राहदानीका लागि अनलाइन फाराम भर्ने र कार्यालय प्रयोजनका कागजातको फोटोकपीसम्बन्धी निःशुल्क उपलब्ध गराउँदै आएको छ ।