• ३ वैशाख २०८३, बिहिबार

पाथीभरामा दुई करोड ९६ लाख भेटी सङ्कलन

blog

पाथीभरामा सङ्कलित भेटी रकम व्यवस्थापन तथा गणना गर्दै समितिका कर्मचारी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाखा १ गते ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दुई करोड छ्यानब्बे लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । पछिल्लो नौ महिनाको अवधि अर्थात चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा उक्त भेटी रकम सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले सोमबार बेलुकी सार्वजनिक गरेको विवरण अनुसार नौ महिनाको अवधिमा कुल दुई करोड ९६ लाख ४२ हजार ६०० रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आवको साउनदेखि चैत महिनाको मसान्त सम्ममा उक्त भेटी रकम सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक हाङ्बाङका अनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी भेटी रकम मङ्सिर र कम भदौ महिनामा सङ्कलन भएको छ । मङ्सिर महिनामा कुल ७५ लाख ४९ हजार १०० रुपियाँ र भदौमा नौ लाख ९७ हजार रुपियाँ भेटी सङ्कलन भएको हाङ्बाङले जानकारी दिनुभयो ।

समितिका अनुसार चैत महिनामा ५८ लाख ४४ हजार ५०० रुपियाँ भेटी सङ्कलन भएको छ । यस्तै साउन महिनामा १० लाख ३९ हजार रुपियाँ, असोजमा ३३ लाख ८२ हजार रुपियाँ भेटी सङ्कलन भएको छ । कात्तिकमा ३४ लाख ४८ हजार ५०० र पुस महिनामा २४ लाख २५ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको समितिले जनाएको छ ।

पाथीभरा दर्शनमा आउने भक्तजनले चढाएका तथा दान गरेको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन गर्ने गरेको छ । समितिले सङ्कलन गर्ने भेटी रकम पछिल्लो समय प्रत्येक महिना अर्थात मासिक रुपमा सार्वजनिक गर्ने गरेको छ ।

यता नौ महिनाको अवधिमा एक लाख ८० हजार ३०६ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । गत साउन महिनादेखि चैत मसान्त सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका समितिले जनाएको छ । यस अवधिमा सबैभन्दा बढी चैत महिनामा ४८ हजार १५५ जना भक्तजन पाथीभरा दर्शन गर्न आएका छन् । चैतपछि कात्तिक महिनामा ४२ हजार २६१ जना र असोजमा २९ हजार १७४ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।

दसैँ तिहारको समय असोज कात्तिक र चैते दसै रामनवमीको समय चैत वैशाखमा पाथीभरा दर्शन गर्ने मुख्य सिजन (मौसम) मानिन्छ । सोही अनुसार हरेक वर्षको उक्त दुई मुख्य सिजनमा पाथीभरा दर्शनका लागि भक्तजन उल्लेख्य रुपमा आउजाउ गर्ने गर्दछन्  । समितिका अनुसार देशका विभिन्न जिल्ला र नेपाल बाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतबाट पाथीभरा दर्शन गर्नलाई भक्तजन आउने गरेका छन् ।