नारायणगढ समाचारदाता
नारायणगढ, चैत २८ गते । जेनजी आन्दोलनका क्रममा पूर्ण क्षति भएको भाटभटेनी सुपरमार्केटको भरतपुर शाखाले शुक्रबारदेखि सेवा पुनः सुरु गरेको छ । जलेर पूर्ण रूपमा नष्ट भएको भाटभटेनीलाई पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले ग्राहकको सेवाका लागि भाटभटेनी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “हामीले ग्राहकको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवा सञ्चालन गरेका छौँ,” उहाँले थप्नुभयो, “नयाँ सेवा सुरु हुँदै गर्दा विगतको भन्दा पनि परिष्कृत भएर सेवा दिने प्रण गरेका छौँ ।” यो शाखामा मात्रै झन्डै एक अर्ब रुपियाँ बराबरका क्षति भएको पनि उहाँले जानकारी दिनुभयो ।
जलेको संरचनालाई पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउन भाटभटेनीलाई सात महिना तीन दिन लाग्यो । सेवा सुचारु भएको पहिलो दिन नै ग्राहकको ठुलो भिड लागेको थियो । दिनभर नै ग्रहकको चहलपहल थियो । सञ्चालक गुरुङसहितको टिमलाई दिनभर जसो नै ग्राहक व्यवस्थापनमा भ्याइनभ्याइ भएको थियो । कुनै औपचारिक कार्यक्रम नै नगरी सिधै बिहान ७ बजेदेखि सेवा सुरु गरिएको थियो ।
भाटभटेनीका देशैभरि ३३ वटा शाखामध्ये जेनजी आन्दोलनमा १२ वटा जलेर पूर्ण नष्ट भएका थिए भने १६ वटामा लुटपाट भएको थियो । यसबाट १६ अर्ब क्षति भएको गुरुङले जानकारी दिनुभयो । क्षतिमध्ये बिमाबाट दुई अर्ब तीन करोड रुपियाँ क्षतिपूर्ति पाएको र सरकारले बाहिरी देशबाट आयात हुने सामानको भन्सार शुल्कमा ५० प्रतिशतभन्दा बढी छुट नदिएको उहाँले जनाउनुभयो ।
भरतपुरसँगै भाटभटेनीका पूर्ण जलेर नष्ट भएका कोटेश्वर, महाराजगन्ज र बालुवाटारको वेयर हाउस गरी चार वटा शाखा पुनः सञ्चालनमा आएका छन् भने अझै आठ वटा सञ्चालनमा आउन बाँकी छ ।