• २२ चैत २०८२, आइतबार

नयाँ वर्षमा वालिङमा ‘फर्स्ट एक्स्पो’ हुने

blog

अर्जुन काफ्ले 
स्याङ्जा, चैत २२ गते ।
नयाँ वर्ष २०८३ को अवसर पारेर स्याङ्जाको वालिङमा पहिलोपटक ‘फर्स्ट एक्स्पो’ आयोजना गरिएको छ । ओमकार इभेन्ट हबको आयोजनामा यही चैत २६ देखि वैशाख २ गतेसम्म वालिङ खेलमैदानमा एक्स्पो सञ्चालन गर्न लागिएको हो ।

कार्यक्रममार्फत वालिङ क्षेत्रको पर्यटन सम्भावना उजागर गर्ने र यहाँ रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरूको पहिचान व्यापक बनाउने लक्ष्य राखिएको संयोजक विजय मल्लले बताउनुभयो ।

नयाँ वर्षलाई उत्सवका रूपमा मनाउने वातावरण निर्माण गर्न पनि एक्स्पो उपयोगी हुने मल्लको भनाइ थियो ।

एक्स्पोमा स्थानीय उत्पादन, मौलिक परिकार, कृषि उपज तथा विभिन्न व्यापारिक सामग्रीको प्रदर्शनी गरिनेछ । अदुवा, कफी र ताजा तरकारीको प्रदर्शनीसँगै सूचना प्रविधि, शैक्षिक सामग्री, अटोमोबाइल, हस्तकला तथा पर्यटनसम्बन्धी स्टलहरू पनि रहने छ ।

कार्यक्रम अवधिभर दोहोरी गीत, नृत्य, भजन तथा नौमती बाजा प्रतियोगिता आयोजना गरिनेछ भने टिकटक प्रतियोगिता र दैनिक सांगीतिक प्रस्तुति रहने सचिव विक्रम खाँणले जानकारी दिनुभयो ।

चर्चित ब्याण्डहरूको लाइभ कन्सर्ट एक्स्पोको अर्को आकर्षण हुने आयोजकले जनाएको छ । ७३ लाख रुपियाँ आम्मदानी हुने अनुमान गरिएको एक्स्पोबाट खर्च कटाएर बाँकी रकम वालिङ खेलमैदानको मर्मत र राष्ट्रिय महिला फुटबल लिगमा वालिङ नगरपालिकाको सहभागिताका लागि सहयोग गरिने प्रबन्धक नवराज पौडेलले बताउनुभयो ।

सामान्य दर्शकका लागि प्रवेश शुल्क १००, विद्यार्थीका लागि ७० र बेलुकी हुने कन्सर्टका लागि ३०० रुपियाँ तोकिएको छ । 

दिउँसो १० देखि साँझ ७ बजेसम्म प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ भने साँझ ७ देखि १० बजेसम्म लाइभ कन्सर्ट आयोजना गर्ने तालिका आयोजकको रहेको छ ।

आयोजक संस्थाले यसअघि सेभेन–ए–साइड फुटबल प्रतियोगिता र वालिङ महोत्सवअन्तर्गत सांगीतिक कार्यक्रमहरू पनि सञ्चालन गरिसकेको छ ।