• ८ वैशाख २०८१, शनिबार

खर्च अभावमा तीन वर्षदेखि साङ्लोमा अम्बिका

blog

३ वर्षदेखि साङ्लोमा बाँधिन बाध्य अम्बिका ढकाल । तस्बिर : गोरखापत्र

लीलाराज खडका 

बिर्तामोड, साउन ८ गते । उपचार गर्ने खर्च अभावमा शिवसताक्षी नगरपालिकामा वडा नं. १० दोमुखाकी ३७ वर्षीय अम्बिका ढकाल ३ वर्षदेखि साङ्लोमा बाँधिन बाध्य हुनुहुन्छ । ढकाल भागेर घर छोडेर हिँड्ने भयले परिवारका सदस्यले  साङ्लोले  बाँधेर राखेको बताउनु भएको छ । 

ढकालको दुवैवटा खुट्टामा साङ्ली लगाएको छ । उहाँ विस्तारै मात्र उताउत्ति हिँडडुुल गर्न सक्नुहुन्छ । विगत १६ वर्ष अघिदेखि बिरामी पर्दै आउनु भएका  अम्बिकालाई गरिबीका कारण औषधी उपचार गर्न नसक्दा आफ्नी छोरीलाई साङ्लोले बाँधर राख्नु परेको आमा सरस्वता ढकालले दुखेसो छ । 

अम्बिकाकी स्थानीय माइखोलमा गिटी कुटेर आफ्नो आमा र भाइलाई पाल्दै आउनुुभएको थियो । वि.सं. २०६० सालमा अम्बिकाले भागेर विवाहसमेत गर्नुभयो। विवाहपश्चात श्रीमान्ले बच्चा पेटमा भएको अवस्थामा नै छोडे पछि उहाँ माइतमै बस्दै आउनुभएको थियो । अम्बिकाले माइतमै छोरीलाई जन्म समेत दिनुभएको छ । छोरी चार वर्षकी भएपछि एक्कासि अम्बिकामा समस्या देखा परेको आमा सरस्वताले बताउनुभयो । 

सुरुमा उपचारका लागि भारतको सिलगुडीसम्म लगेर उपचार गरिएको थियो तर आर्थिक अभावका कारण थप उपचार हुन नपाएको ढकाल परिवारको गुनासो छ । परिवारको मुली परिवार पाल्ने जिम्मेवारी पाएकी छोरीकै यो हविगत भएपछि बिरामी र परिवारकै विचल्ली भएको छ । कमाएर ल्याउने छोरीको नै यो हालत भएपछि रकम अभावका कारण औषधी खुवाउनसमेत नसकिएको आमा सरस्वताको भनाइ छ ।

गत तीन वर्षदेखि घर छोडेर भाग्ने, अरुलाई कुट्ने र हराउने भएकाले छिमेकीको सहयोगमा छोरीको दुवै खुट्टामा साङ्लोले बाँधेर राखेको आमा सरस्वताले बताउनुभयो । छोरीको राम्रो उपचार पाए निको हुने आमाको भनाइ छ, कोही सहयोगी दाता पाए हाम्रो परिवारको कल्याण हुने थियो, आमा सरस्वताले भन्नुभयो । छोरीले कुटने पिटने गरेपछि छोरी र नातिनीकै पनि भेट नभएको आमाको गुनासो छ । छोरीको उपचारमा सहयोग गरिदिन आमा सरस्वताले सबैलाई आग्रह गर्नुभएको छ  ।