• १२ साउन २०८१, शनिबार

भग्‍नावशेष बन्दै राणाकालीन भवन (फोटोफिचर)

blog

काठमाडौं, साउन ७ गते। वि.सं. २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो। भूकम्पले ठूलो जनधनको क्षति गर्‍यो। ऐतिहासिक, पुरातात्त्विक सम्पदा ध्वस्त भए। नौ हजार भन्दा बढी मानिसको ज्यान लिएको उक्त भूकम्पपछि पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो। रातारात घरबारबिहीन बनेका कतिपय मानिसको त घर बन्यो। तर, कतिपय अझै घरबारबिहीन छन्। 

भूकम्पले भत्काएका कतिपय सांस्कृतिक सम्पदाको पुनर्निर्माण भयो भने अझै कतिपय सम्पदाहरु जीर्ण छन्। राजनीतिक खिचातानीका बीच कतिपय ठाउँमा एकीकृत बस्ती बने भने कतिपय परिवारले अझै पालमुनी जीवन व्यतित गरिरहेका छन्। सांस्कृतिक सम्पदाको हविगत पनि त्यो भन्दा फरक छैन। भूकम्प गएको सात वर्ष पूरा भइसकेको छ। यो बीचमा केही स्थानमा राम्रैसँग सांस्कृतिक सम्पदा ठडिएका छन् भने कतिपय स्थानमा अझै पुनर्निर्माणको काम नै अघि बढ्न सकेको छैन। 


यतिबेलासम्म रानीपोखरी निर्माण सम्पन्न भइसकेको छ भने धरहरा पुनर्निर्माणको अन्तिम चरणमा छ। तर, कतिपय राजधानीमा नै रहेका राणाकालीन ऐतिहासिक पुरातात्त्विक भवनहरु अझै जीर्ण छन्। कतिपय भवन अभावमा कार्यालय जोखिमपूर्ण भवनमै सञ्चालनमा  छन्। 

२००७ सालअघि राणा परिवारको अधिनमा रहेका यी भवन पछिल्लो समय सरकारी कामकाजका अड्डाका रुपमा प्रयोगमा थिए। केही भवन पुनर्निर्माण र रेक्ट्रोफिटिङ गरिए पनि धेरै भवन लथालिङ्ग अवस्थामा छोडिएका छन्। यी भवन बनाउँदा बज्र प्रयोग गरिएको थियो। जंगबहादुर बेलायत भ्रमण गरेर फर्कंदा सुर्की (इँटाको धुलो, चुन) प्रयोग गरेर सिमेन्टको विकल्पको रुपमा प्रयोग गरिएको थियो। तस्बिर : न्युज एजेन्सी नेपाल