उदयपुर, साउन ७ गते । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकामा आन्दोलनरत कर्मचारीहरुले आफूहरु पुनः बहाली हुनुपर्ने माग गर्दै पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लगाई धर्ना बसेर कामकाज ठप्प पारेका छन् ।
बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधि पनि नगपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा लिन आएका सेवाग्राही पनि रित्तै घर फर्कनुपरेको थियो । एक हप्तादेखि आफूहरुले नगर प्रमुख वसन्तकुमार बस्नेतको ध्यानाकर्षण गराएको र आफूहरु विनाकारण निष्कासन हुन परेकाले पुनः बहाली नभएसम्म आन्दोलन नरोकिने आन्दोलनकारी कर्मचारीका तर्फबाट संयोजक कृपाराम चौधरीले बताउनुभयो ।
यसै आर्थिक वर्षको साउन १ गतेदेखि नगरपालिकाका ६० अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरुको नगरपालिकाले म्याद थप नगरेकाले आन्दोलनरत कर्मचारीहरु स्वतः निष्कासनमा परेको त्रियुगा नगरपालिकाले बताएको छ । नगपार प्रमुख बस्नेतका अनुसार अस्थायी र करारका धेरै सङ्ख्याको कर्मचारी पाल्दा नगरपालिकाले ठूलो आर्थिक व्यय खेप्न परेकाले कुनै आग्रह र पूर्वाग्रहविना नै उनीहरु कसैलाई पनि म्याद थप नगरिएको हो ।
अब आफूले निर्णय गरिसकेका कारण निर्णयबाट कुनै पनि हालतमा नफर्किने उहाँको भनाइ थियो । आन्दोलनरत कर्मचारीहरु भने आफूहरु विनाकारण निष्कासनमा परेकाले पुनः बहाली नभएसम्म नगरपालिकामा निरन्तर धर्ना दिने, गेटमा ताला लगाउने र नगरपालिकाको कामकाज ठप्प बनाउने अडानमा रहेको बताए ।
नगर उपप्रमुख महेस्वरी राईसहित विभिन्न वडाका अध्यक्षहरु तथा सदस्यहरुसहित गरेर १७ जनप्रतिनिधिले भने तत्काल नगर बैठक बोलाउन नगरप्रमुख बस्नेतलाई एक पत्र लेखेर आग्रह गरेका थिए ।
वडा नं १० का अध्यक्ष किरण पाण्डेले भन्नुभयो, “एक हप्तादेखि नगरपालिकामा ताला लगेको र कर्मचारीहरुले मूलगेटमा नै बसेर धर्ना दिएका कारण नगरप्रतिनिधिहरुसमेत कार्यालयभित्र छिर्न नपाइएकाले प्रमुखलाई तत्काल बैठक बोलाउन र समस्याको विषयमा छलफल गराउन एक पत्र लेखेर बुझाइएको हो।” आन्दोलनरत कर्मचारीहरुका अनुसार आफूहरु वार्ता विरोधी नभएको र प्रमुखले वार्तामा बोलाएर छलफल गराए त्यहीँबाट समस्याको समाधान होस् भन्न चाहेको एक आन्दोलनरत कर्मचारी बताए  ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                