• ६ जेठ २०८१, आइतबार

बीपी अग्रमनका ऊर्जा

blog

बीपी कोइरालाका दुई वटा भनाइ, जो सधैँ चर्चामा पनि रहे र जसलाई सधैँ विवादित बनाउन एउटा पक्ष लागिरह्यो, ती भनाइ आज पनि अत्यन्त सान्दर्भिक रहेका छन् । ‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्ने भनाइ र ‘पञ्चहरू काँग्रेससँग नतर्स, काँग्रेसहरू पञ्चहरूसँग नझस्क’ भन्ने बीपीको  तत्कालीन समयलाई दिशाबोध गर्ने भनाइहरू अहिलेको अवस्थामा पनि मननीय छन् । समकालीन राजनीतिको विश्लेषणका आधारमा बीपीले व्यक्त गरेका यी भनाइहरूको मर्म बुझ्दै त्यसको गहनतामा पुगेर आत्मबोध गर्न सक्यौँ भने हामीलाई समाजको समकालीन अवस्थाको विश्लेषण गर्दै समस्याको पहिचान गर्न र ती समस्यालाई सम्बोधन गर्नका लागि राष्ट्रिय एकता निर्माण गर्न मद्दत पुग्ने छ ।

बीपीको राजनीतिको विशेषता भनेको नागरिक अधिकार, राष्ट्रियता र आर्थिक–सामाजिक समानता नै हो । यो त्रीवेणीभन्दा बाहिर गएर बीपीले कुनै निर्णय गर्नुभएन, कुनै सम्झौता गर्नुभएन र यो त्रिवेणीको पक्षमा जस्तोसुकै जोखिममा पनि दृढताका साथ उभिनु भयो । एक पटक बीपीलाई सोधियो, ‘‘तपाईंको यो लोकप्रियताको कारण के हो भन्ने लाग्छ ?’’ यसमा बीपीले संक्षिप्त जवाफ दिँदै भन्नुभएको थियो, ‘‘मैले राष्ट्रियताको चुरो पक्डेको छु, सायद त्यसैले होला ।’’ २०३३ सालमा देशमा सङ्घर्ष पनि उठ्न नसकेको अवस्था, संवाद पनि बन्द भएको अवस्था, राजनीतिक सङ्गठन (प्रशिक्षणजस्ता कार्यक्रमका साथ जनतामा पुग्ने क्रम) पनि कमजोर भएको अवस्था मात्र होइन, दक्षिण एसियाकै राजनीति षड्यन्त्र र हस्तक्षेपका आधारमा अगाडि बढिरहेको सन्दर्भ विश्लेषण गर्दै नेपालको राष्ट्रियता खतरामा पर्ने र जनपक्षीय राजनीति कमजोर हुने देखेर बीपी कोइराला नेपाल फर्किनु भयो । मेलमिलाप नीतिका साथ फर्किनु भएका उहाँले त्यो नीतिको व्याख्या गर्ने क्रममा भन्नुभएको थियो कि ‘‘राष्ट्रियताका सवालमा राजाको घाँटी र मेरो घाँटी एकै ठाँउमा छ ।’’ यो उहाँको भनाइलाई एउटा पक्षले अत्यन्त विवादास्पद बनाउन खोज्यो तर बीपीको त्यो भनाइको मर्म बुझ्ने कोसिस उनीहरूले गरेनन्, त्यो भनाइको गहनता खोज्ने प्रयास गरेनन् र त्यो भनाइले नेपालको राष्ट्रिय एकताको ढोका खुला गरेको ऐतिहासिक परिवेशलाई बुझ्नै सकेनन् वा चाहेनन् ­तर अहिले उनीहरू पनि क्रमश ः राष्ट्रिय एकताको ढोका खोल्न बीपीको मेलमिलाप नीति र उहाँको राजासँग घाँटी जोडिएको विश्लेषणसँग सहमत देखिँदैछन् । 

देश रह्यो भने आन्तरिक प्रतिस्पर्धा गर्ने हो । घरेलु शक्तिहरूबीचको प्रतिस्पर्धा त देशलाई समृद्धिको मार्गमा लैजाने कार्यक्रम कसले राम्रो ल्याउने भन्ने कुरामा हो । नागरिकको अधिकार कसरी सुनिश्चित र उपयोगी बनाउन सकिन्छ भन्ने कुरामा हो । राज्य प्रदत्त सेवा सुविधामा कसरी समान पहुँच स्थापित गर्न सकिन्छ भन्ने कुरामा हो । त्यस्तै पीछडिएका, सीमान्तकृत नागरिकहरूको राज्य सञ्चालनमा सहभागिताको सुनिश्चितता कसरी गर्ने भन्ने कुरामा हो । यो कुरामा सधँै प्रतिस्पर्धा गर्दै राम्रो नीति वा कार्यक्रमलाई जनअनुमोदन गरी लागू गर्ने अभ्यास नै बहुदलीय लोकतान्त्रिक अभ्यास हो । यो प्रक्रियामा हुने प्रतिस्पर्धाको प्रतिक्रियास्वरूप वा आवेगमा आएर राष्ट्रिय हितको विषयमा पनि एक ठाउँमा उभिन नसक्नु भनेको अलोकतान्त्रिक र सर्वसत्तावादी चिन्तन हो । बीपीले आफूलाई धेरै अप्ठ्यारा परिस्थितिमा समेत लोकतान्त्रिक चरित्र प्रदर्शन गरेका थुप्रै दृष्टान्त छन् । उहाँले यो सन्दर्भमा कहिल्यै पनि लोकप्रिय हुने चाहना राख्नु भएन, सही मार्ग र निर्णयतर्फ नै अग्रसर रहन चाहनु भयो । देश डुब्नै लाग्दा, नेपालको नक्सा नै नरहने अवस्था सिर्जना हुन लाग्दा उहाँले ‘मलाई थुनेर अपदस्त गर्ने राजा वा राजसंस्थासँग मेलमिलाप गर्दैन’ भनेर अड्डी लिएको भए नेपाल सिक्किम हुने अवस्थामा उन्मुख हुने थियो । त्यो ‘व्यक्तिगत इगो’ लाई तिलाञ्जलि दिएर राष्ट्रियता र देशभित्र आफ्नो उपस्थितिसँगै जनपक्षीय राजनीतिमा आउने उत्साहका लागि बीपीले राजासँग घाँटी जोडिएको अभिव्यक्ति दिएर अप्ठ्यारो परिस्थितिमा नेपालका घरेलु शक्तिहरू एकै ठाँउमा उभिन्छन् भन्ने स्पष्ट सन्देश विश्वसामु दिनुभयो । 


अहिले पनि देशभित्रका घरेलु शक्तिबीचमा बलियो एकता बन्न सकिरहेको छैन । राष्ट्रिय हितहरूमा सबै एकै ठाउँमा उभिन सकिरहेका छैनन् । आफ्नो स्वार्थ प्राप्तिका लागि छिमेकी मुलुकहरूमा बिन्ती चढाउने संस्कृति विद्यमान नै छ । नेपाली एकता, नेपाली स्वाभिमान, नेपाली अखण्डता, नेपाली सद्भाव र नेपाली सहनशीलतालाई बिथोलेर अराजक अवस्था सिर्जना गरी त्यही अराजकताका बीचबाट आफ्नो लाभ देख्ने संस्कृति व्याप्त छ । यो संस्कृतिले राष्ट्रिय एकतालाई खण्डित गर्ने काम मात्र गर्छ । बीपीले राजासँग घाँटी जोडिएको अभिव्यक्ति दिएर त्यतिबेलाको बलियो घरेलु शक्तिसँग राष्ट्रिय एकताका सवालमा आफ्नो घाँटी जोडिएको भनेझँै अहिलेका मुख्य घरेलु शक्तिहरूका बीचमा पनि न्यूनतम सहमति कायम गरी अगाडि बढ्ने संस्कृति देखिन थालेको छ । गठबन्धनका नाममा दलहरू एकै ठाउँमा उभिने स्थिति निर्माण भएको छ । यसलाई एक प्रकारले घरेलु शक्तिका बीचमा न्यूनतम सहमतिको खोजी गर्ने अभ्यासका रूपमा विश्लेषण गर्न सकिन्छ तर त्यो गठबन्धनको लक्ष्य कसैलाई सिध्याउने मात्र हुनु हुँदैन । निश्चित र घोषित उद्देश्यहरू कार्यान्वयनका लागि गठबन्धन हो भन्ने प्रष्ट सन्देश दिन सक्नु पर्दछ । 

‘राष्ट्रियताको सवालमा राजा र मेरो घाँटी जोडिएको छ’ भन्दै नेपाल नरहे तिमी कहाँको राजा र म कहाँको नागरिक ? भन्ने प्रश्न उब्जाएर देश बचाउने अभियानमा तत्कालीन बलियो शक्तिलाई राष्ट्रियताको विषयमा गम्भीर हुन ‘प्रेरित’ गर्ने बीपीको त्यो अभिव्यक्ति अहिलेका ठूला र बलिया शक्तिलाई ‘प्रेरित’ गर्नका लागि पनि उत्तिकै महŒवपूर्ण छ । 

त्यसैगरी अर्को बीपीको अभिव्यक्ति भनेको ‘पञ्चहरू काँग्रेससँग नतर्स, काँग्रेसहरू पञ्चहरूसँग नझस्क’ भन्ने भनाइको मर्म पनि यो बेलामा सबैका लागि अनुकरणीय हुन पुगेको छ । पञ्चायतसँग बीपी मिल्न लागेको भनेर प्रचार गर्नेहरूले यो अभिव्यक्तिको पनि अपव्याख्या गर्दै देशभर नै प्रशिक्षण चलाए । २०३७ सालको जनमत सङ्ग्रहपछि बीपीले व्यक्त गरेको यो अभिव्यक्तिको अर्थ भनेको राजनीतिमा हुने विचारको लडाइँलाई व्यक्तिगत झगडा बनाएर देशका नागरिकहरूका बीचमा लडाइँ नहोस् भन्ने थियो । जनमत  सङ्ग्रहमा नीलो र पहेँलोमा भोट हालेका आधारमा नेपाली जनताका बीचमा कुनै कलह नहोस् र आपसी सौहार्दता एवं सामाजिक सद्भाव नबिथोलियोस् भन्ने कुरामा जिम्मेवार भएर बीपीले गर्नुभएको अपील हो त्यो । विचारको लडाइँको प्रतिनिधित्व नेतृत्वले गर्ने हो । त्यो विचारको बलमा नेतृत्वले कार्यक्रम दिने हो । त्यो विचार र कार्यक्रममा सहमत राख्ने नागरिकहरूले त्यो नेतृत्वलाई पृष्ठपोषण गर्ने हो । यो प्रक्रियामा एउटै समाजमा बसेका नागरिक नागरिकका बीचमा कलह हुनुहुँदैन, झैँझगडा हुनुहँुदैन र सामाजिक बहिस्करणको मारमा कोही नेपाली नागरिक पर्नु हुँदैन भन्ने सन्देश प्रवाहित गर्न बीपीले त्यो अभिव्यक्ति दिनुभएको थियो । 

नीलोमा भोट हाल्ने पनि र पहँेलोमा भोट हाल्ने पनि नेपाली नै हुन्, उनीहरू आपसमा कलह गर्नु हुँदैन । निरङ्कुशताको स्रोतमा प्रहार गर्ने हो, नागरिक नागरिकबीच कलह गर्ने होइन, भन्ने अपिलका साथ बीपीले व्यक्त गर्नुभएको यो अभिव्यक्तिलाई विवादित बनाउनेहरूले रोपेको बीउले नै अहिलेसम्म पनि सामाजिक सद्भाव र जनस्तरको एकतामा समेत समस्या पैदा गर्न थालेको छ । बीपीले त्यतिबेला काँग्रेस र पञ्चका कार्यकर्ताहरूका बीचमा लडाइँको आगो सल्काउन सक्नुहुन्थ्यो र त्यसरी जन्मेको हिंसाको अवस्थामा आफ्नो राजनीतिक लाभ खोज्ने बाटो पनि रोज्न सक्नुहुन्थ्यो तर उहाँले त्यसो गर्नुभएन, आफ्नो स्वार्थ राष्ट्रिय एकता र नेपाली सद्भावभन्दा ठूलो कुरा होइन भन्ने कुरामा उहाँ स्पष्ट रहनु भयो, सधैँ स्पष्ट देखिनु भयो । जातिका नाममा, भूगोलका नाममा नेपाली नेपालीलाई लडाउने काम बन्द गरी देशमा सद्भाव र बलियो एकता निर्माण गर्नका लागि बीपीको त्यो अभिव्यक्तिलाई सकारात्मक रूपमा ग्रहण गर्न सक्नु पर्दछ । यसो गरियो भने मात्र बीपीको स्मरण गरेको र उहाँको शालिक वा फोटोमा माल्यार्पण गरेको अर्थ रहन्छ ।   

मुलुकले धेरै पटक राजनीतिक लडाइँमा ठूलो मूल्य चुकाइसकेको छ । राजनीतिक अधिकार स्थापित गर्ने सवालमा हामी धेरै अगाडि बढी पनि सकेका छौँ । गणतन्त्रको यात्रा तय गरेर गणतन्त्रलाई अभ्यासमा ल्याउनका लागि संविधान बनाई सकेका छौँ र गणतन्त्र कार्यान्वयनका दिशामा अगाडि पनि बढी सकेका छौ । अबको यात्रा भनेको समृद्धिको यात्रा नै हो । यो यात्रामा साझा प्रयत्न जरुरी हुन्छ । यसका लागि बीपीले भन्नुभएझैँ घरेलु शक्तिबीचको एकता र नागरिक स्तरमा सद्भावपूर्ण अवस्था जरुरी हुन्छ । सहअस्तित्व र सबैले सबैलाई स्वीकार गर्ने संस्कृतिको प्रवद्र्धनको दिशामा हामी हिँड्न सक्नु पर्दछ । संविधानले नै समाजवादतर्फ उन्मुख हुनका लागि सबैलाई प्रेरित गरेको छ । 

बीपीले नेपालका सन्दर्भमा समाजवाद भनेर नेपाली परिवेशको व्याख्या गर्दै १७ बुँदे कार्ययोजना अगाडि सार्नुभएको थियो । त्यसलाई समयानुकूल बनाउँदै अगाडि बढ्दा समाजवादको यात्रामा अगाडि बढ्न सकिन्छ । गाउँका नागरिकको मुहारमा हाँसो ल्याउने योजना र कार्यक्रम नै समाजवादी कार्यक्रम हो भनेर बीपीले पटक पटक भन्नुभएको छ । अबको लक्ष्य समाजवादतर्फको यात्रा नै हुनुपर्दछ । राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि आर्थिक क्रान्ति अनिवार्य हुन्छ । त्यसका लागि देशभित्रका शक्तिहरूबीचमा हुनुपर्ने न्यूनतम सहकार्य जरुरी हुन्छ । सहकार्यको संस्कृति निर्माण र समाजवादी यात्रा तय गर्नका लागि बीपीको विचारले सधैँ प्रेरित गरिरहेको छ । त्यो प्रेरणा अहिलेका घरेलु शक्तिहरूले प्राप्त गर्न सकेभने त्यो नै अग्रगमनका लागि ऊर्जा हुनेछ ।