टीकापुर समाचारदाता
टीकापुर, चैत १ गते । टीकापुर नगरपालिका–१ स्थित टीकापुर–सनकट्टी–बर्दिया सडकमा बिचबाट ढल निर्माण थालिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा बन्न थालेको ढलले सडक बिग्रिन थालेको छ । यो सडकको चौडाइ २० मिटर रहेको छ । यो सडक चार लेनको मापदण्डमा छ । सडकको किनारमा बन्नुपर्ने ढल करिब सात मिटरभित्र निर्माण हुन थालेको छ । यसरी नै अर्कोतिर पनि सात मिटरभित्र ढल बनाएमा मूल सडक छ मिटर मात्रै रहने छ । ५० वर्षअघि टीकापुर विकास समितिले रेखाङ्कन गरेको सडक अहिले बिग्रिन थालेकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । ढल बन्नुपर्ने ठाउँमा रहेका विद्युत्का खम्बा र व्यक्तिका घरअगाडिका रुख छल्न खोज्दा यस्तो अवस्था आएको हो ।
स्थानीय आकृति ठाकुर पानी निकास र ढल व्यवस्थापन हुन्छ भनेर खुसी लागेको तर घरदेखि सात मिटर पर ढल बन्दा यसको इन्जिनियरिङबारे अचम्म लागेको बताउनुहुन्छ । सङ्घ र प्रदेशबाट बजेट छुट्याइएका योजना कार्यान्वयन गर्ने क्रममा स्थानीय तहलाई बेवास्ता गर्दा यस्ता समस्या आउने र गुणस्तरहीन काम हुने गरेका छन् ।
टीकापुर नगरपालिकाका प्राविधिक गम्भीरसिंह साउदले भन्नुभयो, “प्रदेशका प्राविधिकलाई सडक देखाउने क्रममै सडकको नगरपालिकासँग समन्वय गरेर मापदण्ड अनुसार बनाउनु होला भनेका हौँ । थाहै नदिई सडकको बिचमा ढल बनाउन सुरु गरेछन् ।” निर्माण व्यवसायी प्रकाश शाहले ढल बनाउने ठाउँमा विद्युत्का खम्बा र खानेपानी च्याम्बर रहेको तर यसलाई सार्ने लागत योजनामा समावेश नभएकाले त्यसलाई छोडेर काम भएको बताउनुहुन्छ ।
टीकापुर नगरपालिकाका पूर्वाधार शाखाका प्रमुख इन्जिनियर नवराज जोशीले सङ्घ र प्रदेशबाट सञ्चालन भएका योजना कार्यान्वयन गर्दा सुरुमा नगरपालिकालाई जानकारी नदिने, गलत डिजाइन हुने र काम बिग्रिसकेपछि मात्रै थाहा हुने गरेको बताउनुहुन्छ ।
पहिलेको पक्कीभन्दा अहिले होचो
टीकापुर नगरपालिका–१ मै सङ्घीय सरकारको बजेटमा निर्माण भइरहेको टीकापुर बहुमुखी क्याम्पस जाने रोड पहिले कालोपत्रे गरिएको सतहभन्दा दुई फिट होचो बनाइन लागेको छ । सडकको पानी खस्ने ढलको डिजाइन अनुसार बनाउन खोज्दा पहिलेभन्दा सडक होचो बनाउनु परेको छ । निर्माण व्यवसायीले सडक बनाउनुभन्दा अघि यहाँको माटो खनेर अन्यत्र लैजानु परेको छ भने सडक जमरा कुलाको पुलमा पुग्दा एकदमै ठाडो हुने भएको छ । स्थानीय पूर्ण सापकोटा यसबारेमा गुनासो गर्दा ‘स्टिमेट’ यस्तै बनेको जानकारी पाएको बताउनुहुन्छ । संविधानले तीन तहका सरकारका बिचमा समन्वय, सहकार्य, सहअस्तित्वको परिकल्पना गरे पनि विकास निर्माणका काममा समन्वय नहुँदा योजनाको गुणस्तर कमजोर हुनुका साथै डिजाइन गलत पर्ने गरेका छन् ।