अमरराज नहर्की
तनहुँ, फागुन २९ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाले उच्च शिक्षा अध्ययनमा देखिएको आर्थिक चुनौतीलाई सम्बोधन गर्दै कक्षा ११ र १२ मा अध्ययनरत ७५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमअन्तर्गत जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई जनही १० हजार रुपियाँका दरले कुल सात लाख ५० हजार रुपियाँ छात्रवृत्ति उपलब्ध गराएको हो ।
रामशाह माध्यमिक विद्यालयका ४० जना, मित्रता माध्यमिक विद्यालयका ३० जना र गाउँपालिका बाहिरका विभिन्न कलेजमा अध्ययनरत पाँच जना विद्यार्थीलाई यो सुविधा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । बिहीबार आयोजित एक समारोहमा गाउँपालिका अध्यक्ष शुक्र चुमानले विद्यार्थीहरूलाई छात्रवृत्तिको चेक हस्तान्तरण गर्नुभयो ।
छात्रवृत्ति वितरण गर्दै अध्यक्ष चुमानले शिक्षामा गरिएको लगानीले मात्रै सभ्य समाज र समृद्ध राष्ट्रको भविष्य सुनिश्चित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक अभावका कारण कुनै पनि मेहेनती विद्यार्थीको शैक्षिक यात्रा बीचमै रोकिनु हुँदैन भन्नेमा गाउँपालिका सचेत छ । यो १० हजार रुपैयाँ केवल रकम मात्र होइन, भोलिका कर्णधारहरूको सपना पूरा गर्नका लागि स्थानीय सरकारले दिएको एउटा बलियो साथ र भरोसा पनि हो ।’’
अध्यक्ष चुमानले नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हकलाई व्यवहारमा उतार्न स्थानीय तहले अभिभावकीय भूमिका निर्वाह गरेको स्पष्ट पार्नुभयो । उहाँले थप्नुभयो, “स्थानीय सरकार सञ्चालन ऐनले माध्यमिक शिक्षाको जिम्मेवारी हामीलाई दिएको छ । सोही बमोजिम विद्यार्थीलाई समान अवसर प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्यका लागि हामीले लगानी बढाएका हौँ ।’’
यस प्रकारको सहयोगले विद्यार्थीहरूलाई अध्ययनप्रति थप जिम्मेवार र उत्प्रेरित बनाउने विश्वास गाउँपालिकाले लिएको छ । आगामी दिनमा पनि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर यस्ता प्रोत्साहनमूलक र रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।