राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), फागुन २८ गते । स्याङ्जाको बिरुवा गाउँपालिकामा बिहीबार शोक बिदा दिइएको छ । बिरुवा गाउँपालिका–८ का वडा अध्यक्ष नविन कुमार आलेको निधन भएपछि पालिकाले आज शोक बिदा दिएको हो । ५२ वर्षीय आलेको पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको थियो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले आलेको निधनमा बिहिबार शोक बिदा दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, शिक्षण संस्थाहरुमा एक दिन शोक बिदा दिइएको छ । बुधबार बसेको पालिकाको कार्यपालिका बैठकले बिहीबार शोक बिदा दिने निर्णय गरेको उपाध्यायले जानकारी दिनुभयो ।
सामान्य बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएका आलेको मिर्गौलामा समस्या देखिएको थियो । उहाँको उपचारका क्रममा निधन भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले बताउनुभयो ।
आले २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । नेकपा (एमाले) बिरुवा गाउँपालिका कमिटीका पूर्वउपसचिव समेत रहनुभएका आले राजनीतिसँगै समाजसेवामा सक्रिय हुनुहुन्थ्यो ।