महेन्द्रनगर, साउन ५ गते ।  नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतिको गति सन्तोषजनक छैन । विसं २०६६ देखि सुरु भएको निर्माण १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडकमात्रै कालोपत्र भएको छ । 
कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिंकरसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदैछ । निर्माणको काम सुस्त गतिमा भइरहेको छ । महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका इञ्जीनियर मिलन घतानीले करिडोर निर्माणअन्तर्गत सबैतिर ट्रयाक खोल्ने काम भइरहेको बताउनुभयो । “पूरै आयोजना हेर्दा दार्चुलाका विभिन्न स्थानमा गरेर हालसम्म ३० किलोमिटर सडक कालोपत्र भएको छ ।” इञ्जीनियर घतानीले रासससित भन्नुभयो, “शून्य विन्दुबाट (ब्रह्मदेव क्षेत्र) भने काम सञ्चालन हुनसकेको अवस्था छैन ।
कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढा क्षेत्रसम्म १५ किलोमिटर ट्रयाक खोल्न गत वर्ष असारमा रु. पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भए पनि काम भने हुन सकेन । उक्त क्षेत्रको ट्रयाक खोल्ने काम दिवा–शनिदेव जेभीले पाएको भए पनि रुख कटानको विषय आयोजनाले टुङ्गोमा लगाउन नसक्दा निर्माण व्यवसायी काम गर्न नसक्ने अवस्थामा पुगेको छ । “वन नभएको खाली क्षेत्रमा भने निर्माणको अलि–अलि काम भएको छ”, उहाँले भन्नुभयो, “रुख कटानको विषय वन मन्त्रालयमा थन्किएको छ ।” 
करिडोरअन्तर्गत कञ्चनपुर क्षेत्रमा मात्रै एक हजार ९५१ रुख कटान गर्नुपर्ने छ । उक्त १५ किलोमिटर ट्रयाक २०८० भित्र खोलिसक्नुपर्ने भए पनि निर्माण पक्षले एक वर्ष रित्तो बस्नुप¥यो । महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाले करिडोरअन्तर्गत बाँकी तीन जिल्लामा ट्रयाक खोल्ने काम भइरहेको जनाएको छ ।
योजना कार्यालयका अनुसार हालसम्म डडेल्धुरामा २२ किलोमिटर ट्रयाक खुलेको छ । डडेल्धुरा क्षेत्रमा करिडोरको ५४ किलोमिटर ट्रयाक खुलाउनुपर्ने छ । त्यसैगरी बैतडीमा १४५ किलोमिटरमध्ये ७० किलोमिटर ट्रयाक खुलिसकेको इञ्जीनियर घतानीले जानकारी दिनुभयो । उहाँले दार्चुलामा २०० किलोमिटरमध्ये ९४ किलोमिटर ट्रयाक खुलेको बताउनुभयो । दार्चुलामा २०० किलोमिटरमध्ये ७८ किलोमिटर ट्रयाक खोल्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ । विसं २०६६ मा दार्चुला–तिंकर सडक नामाकरण गरिएको सो योजना २०७४ सालमा महाकाली करिडोरमा परिणत गरिएको हो ।
सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण करिडोर मानिए पनि सरकारले योजनाको रकम विनियोजनमा भने विगतको भन्दा घटाएको छ । गतवर्ष रु. ७९ करोड ४२ लाख रकम विनियोजना भएकामा चालु आवमा रु. ४१ करोडमात्रै बजेट रहेको योजना कार्यालयले जनाएको छ ।
रुख कटानलगायतका प्रक्रियागत कारणले योजनाको काम ढिलाइ भइरहेको देखिन्छ । करिडोरअन्तर्गत कञ्चनपुरमा पर्ने ११ किलोमिटर क्षेत्रमा एक हजार ९५१ रुख कटान गर्नुपर्ने छ । त्यसैगरी डडेल्धुरामा १० हजार ४७६, बैतडीमा चार हजार ५९६ र दार्चुलामा दुई हजार ४२ रुख कटान गर्नुपर्ने महाकाली करिडोर दार्चुला– तिंकर सडक योजना कार्यालयले जनाएको छ ।
“रुख कटानका लागि वन विकास कोषमा हामीले रु. ५७ करोड रकम जम्मा गर्नुपर्नेमा रु. ३७ करोड जम्मा गरिसकेका छौँ”, इञ्जीनियर घतानीले भन्नुभयो, “रकम जम्मा हुनासाथ रुख कटानको विषय पनि टुङ्गोमा पुग्छ ।” उहाँले करिडोरअन्तर्गत सबैतिर ट्रयाक खोल्न ठेक्का सम्झौता भइसकेको बताउनुभयो । 
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                