• ४ जेठ २०८१, शुक्रबार

विद्यालयमा निर्धक्क भएर सेनिटरी प्याडको प्रयोग

blog

हुुम्ला, साउन ५ गते । महिनावारी भएका बेला विद्यालय नै नआउने छात्राहरु हिजो आज निर्धक्कसाथ विद्यालयमै प्याड प्रयोग गर्न थालेका छन् । विद्यालयको एउटा सुरक्षित स्थानमा सेनिटरी प्याड निकाल्ने भेण्डर मेशिन जडान गरिएपछि छात्राले प्याड प्रयोग गर्न थालेका हुन् । 

खार्पुनाथ गाउँपालिका–५ को मान्धारा माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा विनीता परियारले मेशिन जडान गरे लगत्तै एउटा प्याड झिकेर प्रयोग गर्नुभयो । यसअघि प्याड नहुुँदा कपडा प्रयोग गर्ने परियारले मेशिन जडान पछि प्याड प्रयोग गर्न सहज भएको बताउनुुभयो । उहाँले आफुु जस्तै महिनावारी हुने छात्राहरु निर्धक्कका साथ आवश्यक परेको बेला सेनिटरी प्याड स्मार्ट कार्ड मेशिनमा इन्स्टल गरेर झिक्न पहिले जस्तो लाज मान्न छोडेको बताउनुुभयो । 

एक दिन अगाडि उक्त मेशिन जडान गरिएको विद्यालयका प्रधानाध्यापक दिलबहादुुर शाहीले बताउनुुभयो । उहाँले मेशिन जडानपछि विद्यालयमा महिनावारी हुने उमेरका छात्रा र शिक्षक गरी साठी जना रहेको र उहाँहरु सबैलाई सहज भएको बताउनुुभयो । नयाँ जडान गरिएको मेशिनमा एक पटकका लागि साठी वटा प्याड प्रयोग गर्न सकिन्छ । उहाँले यसबाट अब विद्यालयमा छात्रालाई सहज हुनुुका साथै उपस्थिति पनि बढ्ने विश्वास व्यक्त गर्नुभयो । यसअघि उक्त विद्यालयमा केही छात्राहरु महिनावारी भएको बेला घरबाट नआउने र विद्यालयमा अध्ययन गरिरहेका बेला महिनावारी भए विद्यालय छोडेर जाने समस्या थियो ।

मेशिन जडान भएपछि छात्राहरुलाई निर्धक्कका साथ प्रयोग गर्न विद्यालयले सहजीकरण गरेको थियो । मेशिन युरोपियन युुनियन लगायत सहयोगी निकायको आर्थिक सहयोगमा ग्रामीण जलस्राेत व्यवस्थापन परियोजनाले जडान गरेको हो ।


भेण्डर मेशिनबाट निर्धक्क साथ सेनिटरी प्याड झिक्दै छात्रा परियार । तस्बिर ः राजन रावत


Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।