• २२ फागुन २०८२, शुक्रबार

हिन्द महासागरमा श्रीलङ्काको कदम : इरानी जहाज नियन्त्रणमा

blog

कोलम्बो, फागुन २२ गते । अमेरिकाले इरानी युद्धपोत डुबाएपछि श्रीलङ्काले शुक्रबार आफ्नो तटमा रहेको इरानी जहाज आइआरआइएस बुसेहरको नियन्त्रणमा लिएको छ र जहाजमा सवार २०० भन्दा बढी नाविकलाई किनारमा सार्न थालिएको छ । 

हिन्द महासागरमा अमेरिकाको आक्रमणपछि उत्पन्न तनावलाई नियन्त्रणमा राख्न श्रीलङ्काले यस्तो कदम चाल्नु परेको अधिकारीहरूले बताएका छन् । श्रीलङ्काली नौसेनाका प्रवक्ता कमोडोर बुद्धिका सम्पथका अनुसार नाविकलाई मेडिकल परीक्षण र आप्रवासन प्रक्रियापछि कोलम्बोबाट करिब २० किलोमिटर उत्तरमा रहेको वेलिसाराको नौसेना आधारमा लगिने छ । 

जहाजलाई पछि टापुको पूर्वी बन्दरगाहमा सारिने योजना बनाइएको छ । इरानी युद्धपोत आइआरआइएस देना बुधबार अमेरिकी पनडुब्बीले डुबाएपछि श्रीलङ्काले जहाज लिन कदम चालेको हो । यो घटना दोस्रो विश्वयुद्धपछिको दुर्लभ उदाहरण मध्येको हो, जसमा पनडुब्बीले सतहको युद्धपोत डुबाएको थियो । घटनाले इरान-अमेरिका-इजरायलको सैन्य अभियानको दायरालाई हिन्द महासागरसम्म फैलाएको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणलाई ‘समुद्रमा भएको अत्याचार’ भन्नुभयो र कडा अफसोस व्यक्त गर्नुभयो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकले जहाजका इरानी अधिकारीसँग छलफलपछि नियन्त्रण लिने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यो सामान्य अवस्था होइन भनेर बुझ्नुपर्छ । अन्तर्राष्ट्रिय सन्धि र महासन्धिअनुसार निर्णय गरिएको हो ।”

इरानी जहाज आइआरआइएस बुसेहरलाई नौसेनाको रसद जहाजको रूपमा वर्णन गरिएको छ, जसमा हेलिकप्टर प्याड पनि छ । यस प्रकरणले श्रीलङ्कालाई रणनीतिक रूपमा संवेदनशील स्थिति बनाउन पुगेको छ । देशले मानवीय दायित्व, अन्तर्राष्ट्रिय समुद्री कानून र गुटनिरपेक्ष नीतिलाई सन्तुलनमा राख्ने प्रयास गर्दै आएको छ ।

दिसानायकले भन्नुभयो, “हामी कुनै पक्षपाती हुने छैनौँ । कुनै राज्यको अधीनमा पनि हुने छैनौँ । प्रत्येक जीवन हाम्रो आफ्नै जत्तिकै बहुमूल्य छ ।” श्रीलङ्काली नौसेनाले जहाजलाई ट्रिन्कोमाली तटमा नेभिगेट गर्न सहयोग गर्दै बाँकी चालक दललाई आधारमा राख्ने व्यवस्था गरेको छ । रासस/एएफपी