• २२ फागुन २०८२, शुक्रबार

बैतडीमा सर्वदलीय बैठक

blog

मतगणनाका लागि बैतडीमा बसेको सर्वदलीय बैठक । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, फागुन २२ गते । मतगणनाका लागि बैतडीमा सर्वदलीय बैठक सुरु भएको छ । बैठक सकिएलगत्तै मतगणना प्रारम्भ हुने छ । मतगणनाको परिणाम छिटो दिनका लागि चार वटा कोठाबाट गणना हुने बताइएको छ ।

सर्वदलीय बैठक सकिएलगत्तै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले बताउनुभयो । मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयका चार वटा कोठामा तारजाली लगाइएको छ ।

जिल्लाका २१५ मतदान केन्द्रमा ४३८ वटा मतपेटिका प्रयोग भएका छन् । यस पटकको प्रतिनिधिसभा निर्वाचनमा बैतडीमा ४६.७८ प्रतिशत मत खसेको छ । यस पटकको निर्वाचनमा ४० हजार ५७२ महिला, ३२ हजार ५७५ पुरुष र अन्य एक जना गरी ७३ हजार १४८ मत खसेको छ । जिल्लामा अहिले कुल एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् ।

गत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ५२ प्रतिशत मत खसेको थियो । २०७९ को निर्वाचनमा कुल १ लाख ५० हजार १५६ मतदाता रहेका थिए । अघिल्लो निर्वाचनमा ७८ हजार ३६९ मत खसेको थियो । यस पटक करिब ६ हजार मतदाता बढे पनि मतदान भने कम भएको छ । जिल्लाका अधिकांश मानिस रोजगारीका लागि विदेश गएकाले अघिल्लो निर्वाचनभन्दा कम मतदान भएको आँकलन गरिएको छ ।

यस पटकको निर्वाचनमा जिल्लाका २१५ मतदान केन्द्र कायम भएका छन् । एक मात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा यस पटक १० राजनीतिक दल र एक जना स्वतन्त्र गरी ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।