• २२ फागुन २०८२, शुक्रबार

सल्यानमा साढे १० बजेदेखि मतगणना हुने

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सल्यानमा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकपछि आज साढे १० बजेदेखि मतगणना सुरु गरिने भएको छ ।

मतगणनाका लागि जिल्ला समन्वय समिति सल्यानको सभाहलमा आवश्यक तयारी पूरा गरिएको छ । सर्वदलीय बैठकमा मतगणनासम्बन्धी प्रक्रिया, व्यवस्थापन तथा सुरक्षा व्यवस्थाबारे छलफल गरिएको थियो ।

मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम खलङ्गामा सुरक्षित रूपमा ल्याइसकिएको छ र रुजु गर्ने काम पनि सम्पन्न भएको छ ।

अब सर्वदलीय सहमतिपछि साढे १० बजेदेखि औपचारिक रूपमा मतगणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बिहीबार सम्पन्न मतदानमा जिल्लाका कुल १ लाख ६२ हजार ४४९ मतदातामध्ये ८४ हजार ४३० जनाले मतदान गरेका थिए ।