• २१ फागुन २०८२, बिहिबार

दाङमा मतपेटिका सङ्कलन हुँदै

blog

घोराहीस्थित दाङ जिल्ला अदालतमा रहेको मतगणनास्थलमा ल्याइएका मतपेटिका । तस्बिर : लीलाधर वली

लीलाधर वली  

घोराही, फागुन २१ गते । दाङमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएपछि मतपेटिका सङ्कलनको काम सुरु भएको छ । मतदान केन्द्रबाट मतगणनास्थलमा मतपेटिका ल्याउने काम सुरु भएको हो । 

तीन निर्वाचन क्षेत्र रहेको दाङमा निर्वाचन क्षेत्र नं. १ अन्तर्गतको लमही नगरपालिकाको हल, निर्वाचन क्षेत्र नं. २ अन्तर्गत दाङ जिल्ला अदालतको कार्यालय र निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत उच्च अदालतको कार्यालय तुलसीपुरमा मतगणनास्थल निर्माण गरिएको छ । 

मतदानको काम सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर मतपेटिकाहरु मतगणनास्थल ल्याउनेका काम जारी रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिनुभयो । उहाँका अनुसार बजार क्षेत्रमा रहेका मतदान केन्द्र र कम मतदाता भएका मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम भइरहेको छ ।

‘बजार क्षेत्रमा रहेका र कम मतदाता रहेका मतदान केन्द्रबाट मतपेटिका आउने क्रम जारी रहेको छ’,सूचना अधिकारी कवँरले भन्नुभयो,‘जिल्लाका चार सय ८२ मतदान केन्द्रबाट आइपुग्न समय लाग्ला ।’ मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउनका लागि जिल्लामा जीप, मिनी बस र बस गरेर ९८ वटा सवारीसाधन प्रयोग गरेर ल्याउन थालिएको समेत बताउनुभयो ।