शिवराज ढुंगाना
अछाम, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अछाममा भोलिबाट सुरु हुने भएको छ । मतगणनाका लागि भोलि बिहान ७ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पश्चात मत गणना हुने बताइएको छ । क्षेत्र नं १ को मतगणना साँफेबगर र क्षेत्र नं. २ को मतगणना सदरमुकाम मङ्गलसेनमा हुने छ ।
रातीसम्म मतपेटिका सङ्कलनका कार्य गरेपछि बिहानको सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत रोशनकुमार भट्टराईले जानकारी दिनुभयो । अछाम क्षेत्र नं. २ को मतगणना मंगलसेनस्थित अछाम जिल्ला अदालतमा गरिने बताइएको छ ।
यस्तै क्षेत्र नं. १ को मतगणना पनि भोलि मात्रै गरिने निर्वाचन अधिकृत भोलाराज रेग्मीले जानकारी दिनुभयो । राती १२-१ बजेसम्म मतपेटिका पुग्छन्, अनि भोली बिहान बैठक गरेर मतगणना गरिन्छ, रेग्मीले भन्नुभयो ।
क्षेत्र नं. १ को रामारोशन गाउँपलिका र क्षेत्र नं. २ को ढकारी र तुर्माखाँद गाउँपालिकाका विभिन्न मतदान केन्द्रबाट मतपेटिका राती पुग्ने भएकोले मतगणना पछि धकेलिएको हो । मतगणनास्थल लगायतको आवश्यक तयारी पूरा भएको बताइएको छ ।