• २१ फागुन २०८२, बिहिबार

दाङमा ५१ प्रतिशत बढी मत खस्यो

blog

मतदानको लागि लाइनमा मतदाताहरू । तस्बिर : सन्तोष दहित

सन्तोष दहित

दाङ, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत दाङ जिल्लामा अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ । कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ। २ लाख २२ हजार १२ मत खसेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।

कार्यालयको उपलब्ध विवरणअनुसार हालसम्म खसेको मतमध्ये पुरुष ९९ हजार ५१७ र महिला १ लाख २२ हजार ४९५ रहेका छन्। अन्य लिङ्गबाट भने मत खसेको छैन। तथ्यांक अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ। त्यसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा ६९ हजार ३३७ मत खसेको छ। यसमध्ये पुरुष ३० हजार ४९३ र महिला ३८ हजार ८४४ रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर ३ मा भने ८० हजार ३६५ मत खसेको छ। त्यसमध्ये पुरुष ३५ हजार १४० र महिला ४५ हजार २२५ ले मतदान गरेका छन्। जिल्लाभरका मतदान केन्द्रहरूमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको र मतदाताको सहभागिता उल्लेख्य रहेको निर्वाचन कार्यालयले जनाएको छ।