• २१ फागुन २०८२, बिहिबार

तनहुँमा ४५ प्रतिशत मत खस्यो

blog

महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा मतदान गर्दै एक ज्येष्ठ नागरिक। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, फागुन २१ गते । तनहुँमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको छ। जिल्लामा दिउँसो ३ बजेसम्म ४४.८३ (करिब ४५) प्रतिशत मत खसेको छ।

यसैक्रममा प्रथम महिला सविता पौडेलले व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ। उहाँले सो केन्द्रको ‘ग’ बुथबाट मतदान गर्नुभएको मतदान अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो।

जिल्लाका दुवै निर्वाचन क्षेत्रका सबै १४४ मतदान स्थल र ३०९ मतदान केन्द्रमा तोकिएको समयमै मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायले बताउनुभयो। उपाध्यायका अनुसार सबै केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको छ। निर्वाचनका लागि गरिएको पूर्वतयारी र कर्मचारीहरूको दक्षताले गर्दा प्रक्रिया पारदर्शी र त्रुटिरहित ढङ्गले अघि बढेको उहाँले बताउनुभयो। मतदाताहरू निर्धक्क भएर पङ्क्तिबद्ध भई मतदानमा सहभागी भइरहेका छन् भने विशेष गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिलाहरूको उपस्थिति उत्साहजनक देखिएको छ।

निर्वाचनलाई भयरहित बनाउन जिल्लाभर एकीकृत सुरक्षा योजना कडाइका साथ लागू गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताउनुभयो। सुरक्षाका लागि मोबाइल टोली र स्ट्राइक टोलीहरू निरन्तर परिचालन भइरहेका छन्। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी डोलराम शर्माका अनुसार कुल २ लाख ५४ हजार ३९७ मतदाताका लागि आवश्यक सबै व्यवस्थापन मिलाइएको छ। सुरक्षाकर्मी, कर्मचारी र कैदीबन्दीका लागि कृषि विकास कार्यालय र तनहुँ कारागारमा रहेका दुई अस्थायी केन्द्रबाट समानुपातिकतर्फको मतदान भइरहेको छ। अहिलेसम्म जिल्लाका कुनै पनि स्थानमा प्राविधिक वा व्यवस्थापकीय समस्या नदेखिएको र मतदान कार्य निर्वाध रूपमा अघि बढिरहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।