• २१ फागुन २०८२, बिहिबार

धनकुटामा दिउँसो १ बजेसम्म २३ प्रतिशत मतदान

blog

धनकुटाको पाख्रीबासस्थित सरस्वती प्रावि मतदान केन्द्रमा मतदान गर्दै मतदाता। तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), फागुन २१ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा बिहीबार दिउँसो १ बजेसम्म २३ प्रतिशत मतदान भएको छ।

मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामका अनुसार दिउँसो १ बजेसम्म जिल्लाभर २३ प्रतिशत मत खसेको हो। हाल जिल्लाका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

उहाँका अनुसार हालसम्म पुरुष १४ हजार ७६७ र महिला १२ हजार ८३१ गरी कुल २७ हजार ५९८ मत खसेको छ।

धनकुटामा १६६ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन्। जिल्लामा कुल १ लाख १८ हजार ४२५ मतदाता रहेका छन्। तीमध्ये ५० हजार ४८३ पुरुष र ५८ हजार ९४२ महिला मतदाता छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा तीन जना स्वतन्त्र उम्मेदवारसहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। सात वटा स्थानीय तह रहेको धनकुटामा प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको छ।

निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्लाभर आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ। विभिन्न स्थानमा सुरक्षा टोलीले नियमित गस्ती तथा निगरानी गरिरहेको जनाइएको छ। हालसम्म कुनै अप्रिय घटना नघटेको र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको मुख्य निर्वाचन अधिकृत इङ्नामले जानकारी दिनुभयो।