• १२ असोज २०८१, शनिबार

चल्नै सकेन नगर सभा

blog

दमक, साउन ४ गते । झापाको दमक नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट पास नभएपछि दैनिक काम कारबाही र राजस्व उठाउने विषयमा अन्योल भएको बताइएको छ । ११ औँ नगर सभाको चौँथो बैठकमा नेकपा एमालेका नगर सभा सदस्यहरू उपस्थित नभएपछि नगर सभा सुरु भएको दुई मिनेटमा नै स्थगित भएको हो ।

नगरप्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराईसहित गठबन्धनसँग नगर सभा र कार्यपालिकामा बहुमत नभएका कारण समस्या भएको जनाइएको छ । नगरप्रमुख रामकुमार थापाले भन्नुभयो, “नगर सभाको बैठक अनिर्णयको बन्दी भएका कारण जनताले सास्ती पाउन थालेका छन् ।” असार मसान्तसम्ममा नीति तथा कार्यक्रम र बजेट पास गर्नुपर्ने कानुनी तथा संवैधानिक व्यवस्था छ ।

दमक नगर सभामा एमालेको दुई तिहाइ बहुमत छ । ५५ मध्ये ४२ जना एमालेका सदस्य छन् । “स्थानीय सरकारका काम कारबाहीलाई बहुमतको आधारमा रोक्न नह्ुने हो तर यहाँ रोक्ने काम भइरहेको छ,” उहाँले भन्नुभयो । ११ औँ नगर सभाको चौथो बैठकमा आएर नगरप्रमुख थापाले आवश्यक सङ्ख्या नपुगेकाले बैठक स्थगन भएको जनाउँदै पाँचौँ बैठक साउन ११ गतेलाई बोलाउनु भएको छ ।

नगर सभामा नगरप्रमुख थापाले एकलौटी रूपमा आफ्ना विषयहरू समावेश गरेर पास गराउने खोज्ने र कार्यपालिका बैठकसमेत बोलाउन नमानेकाले यो समस्या आएको दमक नगरपालिकाका नगर सभा सदस्य लोकबहादुर धिमालले बताउनु भयो । “हामीले अगाडि नै यथास्थितिमा नगर सभामा सहभागी हुँदैनौँ र कार्यपालिका बैठक बोलाउनुहोस् भनेर जानकारी गराएका थियौँ,” उहाँले भन्नुभयो ।

नगर सभाको पहिलो बैठकमा बोल्ने र फरक मतका विषयमा विवाद भएपछि नगर सभा अनिर्णयको बन्दी बनेको हो । यसभन्दा अघि कहिल्यै पनि दमकमा नगर सभामा यस प्रकारको विवाद भएको थिएन । नगर सभाको विषयलाई लिएर स्थानीयस्तरमा गठबन्धनका दलहरू र नेकपा एमालेबीच एकले अर्कालाई आरोप प्रत्यारोप लगाउनसमेत सुरु भएको छ ।