• १८ फागुन २०८२, सोमबार

अन्तर्राष्ट्रिय उडान अनिश्चित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १८ गते । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि नेपालबाट पश्चिम एसिया क्षेत्रमा हुँदै आएको हवाई सेवा व्यापक रूपमा प्रभावित भएको छ । अमेरिका र इजरायलले इरानका सैन्य तथा आणविक पूर्वाधारमाथि शनिबार गरेको हवाई आक्रमणको प्रत्युत्तरमा इरानले अमेरिकी सैन्य अखडा, विमानस्थललगायतका सहयोगी संरचनामाथि गरेको मिसाइल र ड्रोन आक्रमणपछि कतार, संयुक्त अरब इमिरेट्स र साउदी अरबलगायतका देशले आफ्नो हवाई आकाश बन्द गर्दा आइतबार काठमाडौँमा ओहोरदोहोर गर्ने २३ वटा उडान हुन सकेनन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबार पश्चिम एसियाबाट काठमाडौँ र काठमाडौँबाट पश्चिम एसियाका विभिन्न देशमा उडान तालिका रहेका २३ वटा उडान रद्द हुँदा करिब तीन हजार आठ सय हाराहारी यात्रुको उडान रोकिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “पछिल्लो २४ घण्टाको घटनाक्रम अनुसार कतिपय मध्यपूर्वका देशले आफ्नो हवाई क्षेत्र आंशिक वा पूर्ण रूपमा बन्द गरेका छन् । जसका कारण नेपालमा मात्रै नभएर विश्वव्यापी रूपमा हवाई यातायातमा ठुलो अवरोध  हुँदा हजारौँ उडान ढिलाइ वा रद्द भएका छन् । त्यसबाट नेपालसमेत अछुतो नरहेकाले नियमित उडान कहिलेबाट हुन्छ भन्नेबारे अन्योलबिच शनिबार १८ र आइतबार २३ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।” इरान, इराक, इजरायल, सिरिया, कुवेत र संयुक्त अरब इमिरेट्सले शनिबारको आक्रमणपछि आफ्नो आकाश नियन्त्रणमा राख्ने घोषणा खुकुलो नभएसम्म उडान अनिश्चित रहेको बताउँदै उहाँले हवाई क्षेत्र प्रतिबन्ध जारी रहेमा थप उडानसमेत प्रभावित हुन सक्ने जनाउनुभयो ।

विमानस्थल प्रशासनले सम्बन्धित एयरलाइन्ससँग समन्वय गरी वैकल्पिक उडान, पुनः बुकिङ तथा यात्रु व्यवस्थापनको काम भइरहेको जनाउँदै उहाँले यात्रुलाई उडान अवस्थाबारे अद्यावधिक जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनी र ट्राभल एजेन्सीसँग सम्पर्क राख्न आग्रह गर्नुभयो । उडान नियमित भएसँगै विभिन्न गन्तव्यमा थप उडानमार्फत यात्रुको व्यवस्थापन हुने उहाँको भनाइ छ । उडान रद्द भएपछि शनिबारदेखि नै सयौँ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् । आइतबार अबेरसम्म पनि उडान नियमित हुनेबारे स्पष्ट नहुँदा यात्रुहरू घर फर्किने कि उडानको प्रतीक्षामा बस्ने भन्नेबारे अन्योलमा छन् ।