तिलाचन पाण्डे
तम्घास (गुल्मी), फागुन १५ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नं. २ मा लामो समयदेखिको राजनीतिक विरासत जोगाउने र तोड्नेबिच प्रतिस्पर्धा देखिएको छ ।
यस क्षेत्रमा २०५६ सालदेखि भएका निर्वाचनमध्ये २०६४ सालबाहेक प्रायः आफ्नै पक्षमा जित हात पार्दै आउनुभएका नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष गोकर्णराज विष्ट यस पटक पनि विरासत कायम राख्ने लक्ष्यसहित चुनावी मैदानमा हुनुहुन्छ । उहाँको विरासत तोड्न नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता श्रीराम महत र राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थीबिच प्रतिस्पर्धा रहेको छ ।
यस क्षेत्रका सबै उम्मेदवारले जित आफ्नो पक्षमा हुने दाबी गर्दै आएका छन् । नेकपा (एमाले)का नेता ओम कार्कीका अनुसार विष्टले यस क्षेत्रको विकास निर्माणमा खेलेको उल्लेखनीय भूमिकाको कदर हुने विश्वास गरिएको छ । लामो समयदेखि यस क्षेत्रको भूगोलमा भिजेका, स्वच्छ छवि भएका र जनताको भावना बुझ्न सक्ने राष्ट्रिय नेता भएकाले विष्टले नै जित हासिल गर्नेमा कुनै शङ्का नरहेको उहाँको दाबी छ । साथै एमालेको सङ्गठन ग्रामीण तहसम्म सक्रिय रहेकाले पनि जितको आधार बलियो भएको उहाँको भनाइ छ ।
एमालेका अर्का नेता गणेश श्रीपालीले विष्ट मन्त्री रहँदा उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएकाले जनताले यस पटक पनि मत दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले पछिल्लो समयमा कांग्रेस एकताबद्ध भएर अगाडि बढेकाले उम्मेदवार भुवनप्रसाद श्रेष्ठले जित्ने दाबी गर्नुभयो । यस क्षेत्रबाट लामो समय एउटै व्यक्तिले प्रतिनिधित्व गरेकाले यस पटक मतदाता परिवर्तनको पक्षमा उभिने उहाँको भनाइ छ । कांग्रेस उम्मेदवार श्रेष्ठ स्वच्छ छवि भएका र जनताको सुख–दुःखमा साथ दिने नेताका रूपमा परिचित भएकाले जित्ने आधार बलियो रहेको उहाँले बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार श्रीराम महतले अहिलेको पुस्ताले खोजेको युवा नेतृत्व आफू भएकाले निर्वाचन जित्ने दाबी गर्नुभयो । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहेको र वर्तमान समयले काम गर्ने युवाको आवश्यकता देखाएकाले आफू उपयुक्त उम्मेदवार भएको उहाँको भनाइ छ । लामो समयसम्म एउटै व्यक्तिलाई मत दिँदै आएका मतदाताले यस पटक युवालाई रोज्नेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गोकर्ण नेपालीले लामो समय कर्मचारीका रूपमा अनुभव बटुलेका गोविन्द पन्थी परिवर्तन चाहने मतदाताका लागि उपयुक्त उम्मेदवार भएको बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार जिल्लामा कुल दुई लाख २९ हजार ५४९ जना मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नं. १ मा एक लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नं. २ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन् । जिल्लाभर १४५ मतदान स्थल र २८४ मतदान केन्द्र तोकिएका छन् ।