सन्तोष सुवेदी
कास्की, फागुन १५ गते । कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा चुनावी प्रचार अभियान तीव्र पारिएको छ । राजनीतिक दल र उम्मेदवार घरदैलो, कोणसभा तथा मतदाता भेटघाट गरिरहेका छन् । चिया पसलदेखि रेस्टुरेन्टसम्म दुई/चार जना जम्मा भइहाले पनि चर्चा चुनावकै हुने गरेको छ ।
यसअघिका निर्वाचनको परिणामलाई लिएर यस पटक कसले बाजी मार्ला भन्ने विभिन्न अड्कलबाजी हुन थालेका छन् । सहरी मतदाता बढी रहेकाले उनीहरूलाई प्रभावित पार्नका लागि स्थानीयदेखि राष्ट्रिय राजनीतिका मुद्दा प्रचार गरिरहेका छन् । विशेष गरी पर्यटन, सुकुमवासी समस्या र बेरोजगार युवालाई विदेश पलायन हुनबाट रोक्ने नारालाई मुख्य चुनावी एजेन्डा बनाइएका छन् ।
कास्कीमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच नै कडा टक्कर हुने स्थानीय मतदाताले बताएका छन् । जिल्लामा यसअघिको संविधान सभाको दोस्रो निर्वाचनमा कांग्रेस र एमालेले दुई/दुई सिट जितेका थिए भने २०६४ को पहिलो संविधान सभामा माओवादीले तीन र एमालेले एक सिट जितेको थियो । २०७४ र २०७९ का दुवै निर्वाचनमा एमालेले सबै सिट जितेको थियो । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले परिवर्तन भएर आएको कांग्रेस पार्टीले मतदाताको भरोसा जागेको बताउनुभयो । उहाँले कास्कीका तीन वटै क्षेत्र आफ्नो पार्टी जित्नेमा आशावादी रहेको सुनाउनुभयो । बरालले यो पटक नेता कार्यकर्तामा मनमुटाव नभएको कारण पनि जित्ने आधार भएको दाबी गर्नुभयो । एमाले कास्कीका कार्यवाहक अध्यक्ष भेषराज बरालले पार्टीको तल्लो तहसम्मको बलियो सङ्गठन, जनतासँग भिजेका उम्मेदवारका कारण पनि एमालेको जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।
नेपाली कम्युनिस्ट पार्टी कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन गर्न नसकेकोले एक पटकलाई अवस्था परिवर्तनका लागि पनि आफ्नो पार्टीको जित हुने दाबी गर्नुभयो । रास्वपा कास्कीका सभापति यदुनाथ अधिकारीले पुराना पार्टीले गरेको कामप्रति जनता निराश भएकोले परिवर्तनका लागि रास्वपालाई अधिकांशले मतदान गर्ने दाबी गर्नुभयो ।
कास्की क्षेत्र नं. १ मा कांग्रेसबाट तिलकबहादुर रानाभाट, एमालेबाट जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, रास्वपाबाट खडकराज पौडेल र नेकपाबाट राजकाजी गुरुङ उम्मेदवार छन् । यसै गरी क्षेत्र २ मा एमालेका रश्मि आचार्य, कांग्रेसका माधवप्रसाद बाँस्तोला, रास्वपाबाट उत्तम पौडेल र नेकपाका हेमबहादुर थापा चुनावी मैदानमा रहेका छन् । कास्की क्षेत्र नम्बर ३ मा एमालेका दामोदर पौडेल वैरागी, कांग्रेसका मनोज गुरुङ, रास्वपाका बीना गुरुङ र नेकपाका गोपाल गिरी चुनावी मैदानमा छन् ।