• १५ फागुन २०८२, शुक्रबार

‘मत हाल्ने तरिका पनि सिक्न पाइँदोरहेछ’

blog

मुस्ताङका स्थानीय वृद्धालाई मतदाता शिक्षा सिकाउँदै स्वयंसेवक । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), फागुन १५ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत झारकोटकी ९० वर्षीय छिन आङ्मो ठकुरी घरदैलोमै मतदाता शिक्षा पाएकोमा दङ्ग पर्नुभयो । विगतमा आफन्तको सहयोगमा मतदान केन्द्रमा मत हाल्न जाने वृद्धा ठकुरीले यस पटक स्वयंसेवकका रूपमा खटिनुभएका नारायण योगीबाट मतपत्रमा स्वस्तिक छाप लगाउन, पट्याएर मतपेटिकामा खसाल्ने विधि सिकेपछि उत्साहित हुनुहुन्छ । वृद्धा ठकुरी जस्तै अर्का स्थानीय ७२ वर्षीय पेम्मा गुरुङले पहिलो पटक मतदान शिक्षा पाएको बताउनुभयो । 

विगतका निर्वाचनमा मतदान शिक्षाका लागि गाउँमा स्वंयसेवक आउने गरे पनि उहाँले मतदाता शिक्षा लिनबाट वञ्चित भएको जानकारी दिनुभयो । गाउँका वृद्धवृद्धाले मतदाता शिक्षासँगै निर्वाचनको महत्वका बारेमा समेत बुझ्ने अवसर पाएका छन् । झारकोटका स्थानीय ८८ वर्षीय छिटी मेन्दो गुरुङले भन्नुभयो, “मत हाल्ने तरिका पनि सिक्न पाइने रहेछ, पहिले पहिले सिक्ने अवसर नै पाएका थिएनौँ । यस पटक मत बदर गर्दिनँ नै भन्ने लागेको छ ।” 

मतदाता शिक्षाका लागि वडाका कार्यालय सहायक योगीले बिहानबेलुकीको समयमा मतदाताको घरदैलो र समूह बनाएर सिकाउने गरेपछि वृद्धवृद्धामा उत्साह छाएको छ । मतदातालाई मत हाल्न सहज होस् भनी सहज स्वयंसेवकले मतदान शिक्षासँगै मत हाल्नसमेत नमुना अभ्यास पनि गराएका छन् । 

मतदान शिक्षाका लागि खटिनुभएका योगीले निरक्षर र वृद्धवृद्धालाई अभ्याससहित लामो समय दिने गरेकोमा पहिलो पटक मतदान गर्ने नयाँ पुस्तालाई शिक्षासँगै परिवारलाई सिकाउनसमेत सन्देश प्रवाह गर्ने गरेको बताउनुभयो । स्वयंसेवक योगीले भन्नुभयो, “मतदान शिक्षा लिएर गाउँ पुगेपछि मात्रै चुनावी चहलपहल सुरु भयो, घरदैलोमा पुग्दा मतदातामा उत्साह देखियो ।” मतदाता शिक्षामा खटिनुभएकी वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का स्वयंसेवक छिरिङ घले गुरुङले मतदाता शिक्षाको पहुँचमा रहेका वृद्धवृद्धाबाट बदर मत घटाउन सकिने अवस्था रहेको बताउनुभयो । गुरुङले भन्नुभयो, “मतदातालाई समूहमा भन्दा एकल सिकाउँदा निकै सहज महसुस गर्नुभएको छ । पहिला हतारमा मतपत्र लिएर मतदानमा जानेहरूले यस पटक मतदान स्थलभित्रका सबै विधिमा चासो देखाउनुभयो।” 

जिल्ला निर्वाचन कार्यालय मुस्ताङका निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले विगतमा बदर मत भएका क्षेत्रमा बुढापाका धेरै भएको र हतार हतारमा मत दिएर निस्किने गरेको अनुभवका आधारमा यस पटक मतदान शिक्षामा जाने स्वयंसेवकलाई प्राविधिक ज्ञान बढी दिन निर्देशन दिइएको बताउनुभयो । मतदान शिक्षामा मतपत्रमा स्वस्तिक छापको ठाउँमा ल्याप्चे लगाउने, कलमले लेख्ने जस्ता गतिविधिलाई न्यूनीकरणसहित मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतपत्रमा मतदान अधिकृतको हस्ताक्षरलगायतका अन्य त्रुटिका बारेमा समेत सचेत बनाइएको बताउनुभयो। 

जिल्ला निर्वाचन कार्यालयले थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकाका २५ वटै वडामा बालविकास सहजकर्ता, महिला स्वास्थ्य स्वयंसेविक, सामुदायिक सेवा केन्द्रका परिचालक गरी २५ जना  मतदाता स्वयंसेवक रहेका छन् ।