• १५ फागुन २०८२, शुक्रबार

उम्मेदवारको प्राथमिकतामा नपरेका सीमाका बस्ती

blog

सर्लाहीको सीमावर्ती क्षेत्रस्थित बलरा बजार । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, फागुन १५ गते  । सर्लाहीको सीमावर्ती क्षेत्रका मतदाताले आफूहरूको क्षेत्रमा समस्या धेरै भए पनि राजनीतिक दलका घोषणापत्र तथा प्रतिज्ञापत्रमा ती विषय नसमेटिएको गुनासो गरेका छन् ।  सीमावर्ती क्षेत्रमा मुख्य गरी शिक्षा, स्वास्थ्य र सिँचाइको समस्या रहेको स्थानीयको गुनासो रहेको छ । ब्रह्मपुरी गाउँपालिका–३ का बिलट राय यादवले सामान्य चोटपटक लाग्दासमेत गाउँमा उपचार नपाएर सदरमुकाम मलङ्गवा वा जनकपुरसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुन नसकेको गुनासो गर्नुभयो । 

यादवले स्थानीयस्तरमा स्वास्थ्य संस्थाका भवन बने पनि सही सदुपयोग हुन नसकेको र सिटामोल लिनसमेत सदरमुकाम नै धाउनुपर्ने बाध्यात्मक अवस्था रहेको दुःखेसो पोख्नुभयो । गाउँका अगुवासमेत रहनुभएका यादवले भन्नुभयो, “उम्मेदवारहरूले आकर्षक नारा दिएर घोषणापत्र ल्याए पनि विश्वास गर्ने आधार भने देखिँदैन ।”

सर्लाहीको सीमावर्ती क्षेत्रका अधिकांश विद्यार्थी अध्ययनका लागि सदरमुकाम मलङ्गवा, लालबन्दी, जनकपुर, काठमाडौँलगायत स्थानमा जाने गरेका छन् । सीमावर्ती क्षेत्र र दक्षिणी ग्रामीण भेगका सामुदायिक विद्यालय जर्जर अवस्थामा सञ्चालनमा रहेका सदरमुकाम मलङ्गवा निवासी नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले बताउनुभयो । 

हरेक चुनावमा शिक्षा, स्वास्थ्य, कृषि जस्ता विषयलाई घोषणापत्रमा उल्लेख गरिए पनि प्राथमिक शिक्षा लिनसमेत अन्यत्र धाउनुपर्ने बाध्यता हट्न नसकेको झाको भनाइ छ । झाले भन्नुभयो, “मधेशमा जति दक्षिणी बेल्टमा पस्नुहुन्छ, उत्तिनै शिक्षाको अवस्था दयनीय छ । यहाँको शिक्षा र साक्षरताको अवस्था उकास्ने किसिमको नीति कुनै पनि उम्मेदवारले घोषणापत्रमा  पाइँदैन ।” नागरिक समाजका अध्यक्ष झाले प्रत्येक निर्वाचनमा उम्मेदवारले प्रतिस्पर्धा र देखावटी घोषणापत्र ल्याए पनि निर्वाचित भएपछि घोषणा पत्रअनुसार काम गरेको नदेखिएको टिप्पणी गर्नुभयो । 

सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिका १, शीतलपुरका दिनकर राय यादवले सीमावर्ती क्षेत्रमा बसोवास गर्ने नागरिकको समस्या कसैले पनि नबुझेको गुनासो गर्नुभयो । गाउँमा कुनै सुविधा नहुँदा हरेक वस्तुका लागि सीमापारि भारतीय बजारमै जानुपर्ने र त्यहाँबाट किनमेल गरेर आउँदा वा औषधोपचारमा उपचारका लागि पुग्दा पनि अनेक झन्झट बेहोर्नु परिरहेको दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “अहिले मत माग्न आउने उम्मेदवार निर्वाचित भएर गएपछि मलखाद अभावदेखि अन्य समस्या पर्दा पनि वास्ता गर्दैनन् ।”

सीमावर्ती क्षेत्रमा पुग्दा किसानले अहिले गहुँमा हाल्ने मल नपाएको, सिँचाइ सुविधा नरहेको, प्राथमिक स्वास्थ्य उपचार सुविधा नरहेको, छोराछोरीलाई पठनपाठनका लागि महँगो शुल्क र कोठाभाडा तिरेर सहर, बजारमा राख्नु परेको जस्ता गुनासो गरिरहेका छन् । जिल्लामा अन्य भेगको तुलनामा सीमावर्ती क्षेत्र विकासमा धेरैपछाडि परेको स्थानीयको भनाइ छ । हरिपुर्वा नगरपालिका–२ का दिनेश साहले गाउँमा नगर अस्पताल रहे पनि सामान्य चोटपटक लाग्दा पनि ठुलो खर्च गरेर मलङ्गवा वा जनकपुर नै गएर उपचार गराउनुपर्ने बाध्यता हट्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई त चुनावमा कसले जित्छ वा हार्छभन्दा पनि सामान्य घाउ, चोटपटक लाग्दा यहीँ उपचार पाइयोस् भन्ने चाहाना छ ।”

इश्वरपुर नगरपालिका–१४ का शशी यादवले विकासको नाममा मठमन्दिर, सामुदायिक भवन निर्माण गरेर आर्थिक हिनामिना गर्ने तर शिक्षा र स्वास्थ्यको अवस्था सुधार गर्न कसैले ठोस पहल गर्न नसकेको उल्लेख गर्नुभयो । सुक्खाका कारण मधेश बर्सेनि प्रताडित भइरहे पनि कुनै पनि उम्मेदवारले आफ्नो घोषणापत्रमा सुक्खापनबाट परेको असरबारे विषय नै नउठाएका यादवको भनाइ छ । श्रीनगर बजारमा भेटिनुभएका उहाँले मधेशमा अहिलेदेखि नै चापाकल सुक्ने र वन क्षेत्रमा डढेलो लाग्न सुरु भए पनि यस्ता गम्भीर समस्याप्रति कुनै उम्मेदवारले चासो देखाउन नसकेको बताउनुभयो । 

सर्लाहीमा अहिले अधिकांश पुरानो उम्मेदवारबिच यहाँ स्वास्थ्य संस्था स्थापना गर्न, विद्यालय भवन निर्माण गर्न, सडक बनाउन आफ्नो पहल रहेको दाबी चलिरहेको छ भने नयाँ उम्मेदवारले अहिलेसम्म केही विकास हुन नसकेको र अब आफूले परिवर्तन गर्ने भन्दै मत मागिरहेका छन् ।