धनगढी समाचारदाता
धनगढी, फागुन १५ गते । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन कार्यालयका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि ९५ प्रतिशत तयारी पूरा भएको हो । अब सबै मतदान केन्द्रमा मत सामग्रीसहित कर्मचारी खटाउने कार्य भइरहेको छ । फागुन १७ गतेसम्म प्रदेशका सबै मतदान केन्द्रमा मतदान सामग्रीसहित मतदान कर्मचारी पुगिसक्ने प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिनुभयो ।
“प्रदेशको १६ वटै निर्वाचन क्षेत्रमा सम्पूर्ण सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको छ,” उहाँले भन्नुभयो, “मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिने कार्य पनि सम्पन्न भइसकेको छ । मत सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटिरहेका छन् ।”
निर्वाचन कार्यालयले सरकारदेखि सरकार (जिटुजी) प्रक्रिया अन्तर्गत ३७ प्रकार र निर्वाचन आयोगबाट प्राप्त १४ प्रकार गरी ५१ प्रकारका निर्वाचन सामग्रीका साथ कर्मचारीलाई खटाएको छ । मतदाता पहिचानका लागि रङ्गीन फोटोसहितको मतदाता नामावली मतदान केन्द्रमा पठाइएको छ ।
मतदाताले सुरुमा प्रत्यक्षतर्फको मतपत्रमा मत सङ्केत गरेर एक नम्बर लेखिएको मतपेटिकामा मतपत्र हाल्ने निर्वाचन अधिकारी भट्टले जानकारी दिनुभयो । प्रत्यक्षतर्फको मतपत्र सेतो कागजमा रातो अक्षरको रहेको छ । पहिलो हुने निर्वाचित हुने मतपत्रमा छाप लगाइसकेपछि मतदाताले समानुपातिक मतपत्रमा आफूलाई मन पर्ने पार्टीमा मत सङ्केत गरेर दुई नम्बर लेखिएको मतपेटिकामा मतपत्र खसाल्ने उहाँले बताउनुभयो । समानुपातिक मतपत्रमा सेतो कागजमा कालो अक्षरले लेखिएको छ । पहिलो हुने निर्वाचित हुने मतपत्रमा लगाएको छापले उम्मेदवारलाई र समानुपातिक मतपत्रमा लगाइएको छापले राजनीतिक दललाई भोट जाने छ ।
निर्वाचनमा महिला र पुरुष मतदाताको छुट्टाछुट्टै लाइन हुने निर्वाचन अधिकारी भट्टले जानकारी दिनुभयो । अशक्त, ज्येष्ठ नागरिक, बालबच्चा भएका महिला, बिरामीसहित अन्य समूहका मतदातालाई लाइन लाग्न नपर्ने गरी सहज तरिकाले मतदानको व्यवस्था मिलाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।
निर्वाचन गराउन खटिएका कर्मचारीले फागुन १८ र १९ गते सर्वदलीय सर्वपक्षीय भेला गर्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ । अहिले निर्वाचन कार्यालयले प्रदेशको ७६४ वटै वडामा मतदाता शिक्षा कार्यक्रम पनि जारी राखेको छ । निर्वाचन गराउनका लागि १५ हजार कर्मचारी खटेका छन् । सुदूरपश्चिम प्रदेशमा दुई हजार १९९ मतदान केन्द्र र एक हजार १७६ मतदान स्थल रहेको छ ।
१६ वटै निर्वाचन क्षेत्रमा गरी यस प्रदेशमा २४ वटा राजनीतिक दलबाट २०६ जना उम्मेदवार छन् । त्यस्तै २८ जना स्वतन्त्र रूपमा चुनाव लडिरहेका छन् ।