जीवछ यादव
लहान, फागुन १५ गते । लहान नगरपालिका–१ को मुख्य चोकमा रहेका मधेश आन्दोलनका सहिदहरूको शालिकमा माल्यार्पण गर्दै मतदाता रिझाउने प्रयास गरिएको चर्चा बढ्न थालेको छ । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले सहिद शालिकमा माल्यार्पण गरेपछि यस्तो चर्चा चलेको हो ।
आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा लहान आउने विभिन्न दलका शीर्ष नेताहरूले सहिद शालिकमा माल्यार्पण गरी मतदातासँग मत माग्ने क्रम यस पटक देखिएको छ । यसअघि जनता समाजवादी पार्टी र जनमत पार्टी बाहेकका दलका नेताहरूले मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोसहित विजय सहनी, प्रमोद सदाय, बेचन यादव र मोहम्मद अनिस अन्सारीको शालिकमा माल्यार्पण गर्ने गरेका थिएनन् । माघ ५ गते मनाइने बलिदानी दिवसमा समेत उनीहरूको सहभागिता रहने गरेको थिएन ।
प्रत्येक वर्ष माघ ५ गते मनाइने बलिदानी दिवसमा प्रायः मधेशवादी दलका रूपमा चिनिएका जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका शीर्ष नेताहरूको आगमन भई माल्यार्पण गर्ने चलन रहेको भए पनि यस पटकको निर्वाचनमा गगन कुमार थापा, बालेन्द्र शाह र रवि लामिछाने ले सहिद शालिकमा माल्यार्पण गरेपछि लहानमा चर्चा बढेको छ ।
स्थानीय नागरिक अगुवा रामविहारी साहले भन्नुभयो, “यतिका वर्षमा पहिलोपटक मधेशवादी दल बाहेक अन्य दलका नेताले सहिद शालिकमा माल्यार्पण गरेको देखियो । यो सकारात्मक पक्ष हो । सहिद सबैका मार्गदर्शक हुन्छन् । अब अन्य दलको पनि ध्यान केन्द्रित भएको छ ।”
यता जनता समाजवादी पार्टी समर्थक रामु महतो र जनमत पार्टीका बालेश्वर यादवका अनुसार चुनावमा मतदाता रिझाउनकै लागि सहिदलाई माल्यार्पण नगर्ने दलका शीर्ष नेताहरूले निर्वाचनको मुखमा सहिद शालिकमा माल्यार्पण गर्नु मतदाता आकर्षित गर्ने प्रयास मात्र हो । अन्य समयमा सहिदलाई नसम्झिने र चुनावको समयमा मात्र सहिद शालिक सम्झिनुले त्यही अर्थ लाग्ने उनीहरूको भनाइ छ ।
माघको अन्तिम साता लहान आउनुभएका कांग्रेस नेता गगन कुमार थापाले मधेश आन्दोलनका सहिदहरूको भावना र चाहनाअनुसार देशमा सङ्घीयता, पहिचान र विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहिद शालिकमा माल्यार्पण गर्नुभएको थियो ।
दुई दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेश आन्दोलनका सहिदहरू सम्पूर्ण नेपालका सहिद भएको उल्लेख गर्दै तराई–मधेश, पहाड र हिमाललाई जोड्ने गरी देशको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सहिदप्रति गरिएको सम्मानलाई सकारात्मक रूपमा लिनुपर्ने लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसका प्राध्यापक कन्हैया भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य दलका नेताहरूले पनि सहिदलाई मार्गदर्शकका रूपमा लिन आवश्यक छ । यसलाई मतदाता रिझाउने कार्यका रूपमा मात्र लिनु हुँदैन ।”