• १५ फागुन २०८२, शुक्रबार

प्रतिनिधि सभा निर्वाचन : दाङमा २९ सय कर्मचारी खटिने

blog

निर्वाचनमा खटिने कर्मचारीका लागि घोराहीमा आयोजना गरिएको तालिममा सहभागी कर्मचारी । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, फागुन १५ गते ।
प्रतिनिधि सभा निर्वाचनका लागि दाङमा करिब २९ सय कर्मचारी परिचालन हुने भएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार यहि फागुन २१ गते हुने जिल्लामा निर्वाचन गर्नका लागि जिल्लामा दुई हजार आठ सय ९८ जना कर्मचारी परिचालन हुने भएका हुन् ।

एउटा मतदान केन्द्रमा छ जना कर्मचारीका दरले जिल्लामा भएका चार सय ८२ वटा मतदान केन्द्रमा दुई हजार आठ सय ९२ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा तीन/तीन जनाका दरले छ जना गरी दुई हजार आठ सय ९८ जना कर्मचारी निर्वाचनमा परिचालन हुने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी खटिने छन् । त्यसैगरी अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी परिचालन हुनेछन् ।

जिल्लामा घोराही र तुलसीपुरस्थित कारागारमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई आवश्यक तालिमसँगै सामग्री प्रदान गर्ने काम भइरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका एक सय ५९ मतदानस्थलअन्तर्गत रहेका चार सय ८२ मतदान केन्द्रमा चार सय ८२ जना मतदान अधिकृत, चार सय ८२ जना सहायक मतदान अधिकृत, एक हजार चार सय ४६ सहायक कर्मचारी र चार सय ८२ जना सहयोगी कर्मचारी परिचालन हुने भएका छन् ।

त्यसैगरी दुई वटा अस्थायी मतदान केन्द्रमा दुई जना मतदान अधिकृत, दुई–दुई जना सहायक मतदान अधिकृत र दुई जना सहयोगी कर्मचारी परिचालन हुने भएका प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा खटिने कर्मचारीलाई तालिमका साथै मतदानका लागि खटिने मतदान केन्द्रको समेत टुङ्गो लगाइसकेको सूचना अधिकारी कुवँरले जानकारी दिनुभएको छ ।

त्यसैगरी निर्वाचनलाई लक्षित गरेर जिल्ला सुरक्षा व्यवस्था कडाइ गरिएको छ । निर्वाचनसँगै दलको प्रचारप्रसारका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालयका अनुसार निर्वाचन लक्षित कुनै पनि गतिविधि हुन नदिनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरीलाई परिचालन गरिएको छ । जिल्लामा निर्वाचन सुरक्षाका लागि करिब साढे पाँच हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।