पश्चिम नवलपरासी समाचारदाता
पश्चिम नवलपरासी, फागुन १५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)–१ लाई यस पटक अत्यधिक चासोका रूपमा हेरिएको छ । विशेष गरी विनोद चौधरी पुनः उम्मेदवार बनेसँगै यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने भएको छ ।
यो निर्वाचन क्षेत्रमा बर्दघाट नगरपालिकाका सबै वडा, सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाका सम्पूर्ण वडा तथा सरावल गाउँपालिकाका वडा नम्बर ४, ५, ६ र ७ समेटिएका छन् । निर्वाचन आयोगका अनुसार यहाँ कुल एक लाख २३ हजार ८० मतदाता रहेका छन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका विनोद चौधरी २९ हजार ५१९ मतसहित विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी तत्कालीन जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत प्राप्त गर्नुभएको थियो । त्यसै गरी महेन्द्र सेन (रास्वपा) ले १२ हजार ४९९, जनमतका गुलावप्रसाद चौधरीले पाँच हजार ९५२ र राप्रपाका भोजराज ढकालले चार हजार ८२५ मत प्राप्त गर्नुभएको थियो ।
समानुपातिकतर्फ पनि नेपाली कांग्रेस अग्रस्थानमा रहँदै २३ हजार ५१५ मत पाएको थियो भने एमालेले १७ हजार १७२ मत प्राप्त गरेको थियो । रास्वपा, जनमत र राप्रपाले क्रमशः १० हजार ७१८, सात हजार ४१४ र छ हजार ४७७ मत पाएका थिए । यस पटक यस क्षेत्रबाट २६ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट पुनः विनोद चौधरी उम्मेदवार बन्नुभएको छ भने एमालेले रामप्रसाद पाण्डेयलाई अघि सारेको छ । रास्वपाबाट कांग्रेसका पूर्वनेता विक्रम खनाल उम्मेदवार बन्नुभएको छ ।
त्यस्तै नेकपाबाट सिन्धु जलेसा बुढाथोकी, राप्रपाबाट नवनितकुमार मिश्र, जसपा नेपालबाट हृदयेश त्रिपाठी तथा जनमतबाट गणेशबहादुर चौधरी उम्मेदवार हुनुहुन्छ । गत निर्वाचनमा एमालेको समर्थनमा प्रतिस्पर्धा गरेका त्रिपाठी यस पटक जनता सामजवादी पार्टी नेपालबाट उम्मेदवार बन्नुभएको छ । जनता प्रगतिशील पार्टी र जसपा नेपालबिच एकता भएको छ । यस्तै कांग्रेसबाट कारबाही भोगेका विक्रम खनाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रिनुभएको छ, जसले मत विभाजनको समीकरणमा केही प्रभाव पार्न सक्ने आकलन गरिएको छ ।
चौधरीले २०७९ को निर्वाचनमा गरेका प्रतिबद्धता र कार्यान्वयनको बुकलेट बनाएर मतदातासँग आगामी निर्वाचनमा क्षेत्र नम्बर १ को विकासको एजेन्डा प्रस्तुत गरिरहनुभएको छ । भित्री सडक स्तरोन्नति, सिँचाइ सुविधा विस्तार, नदी कटान नियन्त्रण र स्वास्थ्य शिक्षा पूर्वाधार सुधार प्राथमिकतामा थिए । तीन वर्षे अवधिमा चौधरीले प्रतिबद्धता गरेअनुरूपका काम केही पूरा भएको र केही पूरा गर्न बाँकी भएकाले आफू फेरि चुनावी मैदानमा उत्रिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले जे सोच बनाएको थिएँ, त्यो पूरा हुने चरणमा छ, स्वास्थ्य क्षेत्रमा महìवपूर्ण काम भएका छन्, कृषि क्षेत्रका केही काम बाँकी छ त्यो पनि पूरा गर्ने मार्गचित्र तयार छ ।”
जसपा नेपालका नेता त्रिपाठीले यस पटकको निर्वाचनमा मुख्यतया तीन वटा पक्षलाई प्राथमिकता दिनुभएको छ । उखु किसानका समस्याको स्थायी समाधान र समयमै मल बिउको सहज उपलब्धता, शिक्षा र स्वास्थ्यलाई अझ आधुनिक र सुविधा सम्पन्न बनाउने तथा प्राविधिक शिक्षाको विस्तार र पूर्वाधार क्षेत्रका अधुरा सडक सञ्जाल र निर्माणका कामलाई पूर्णता दिने प्रतिबद्धता आफूले गरेको उहाँले बताउनुभयो ।
रास्वपाका उम्मेदवार विक्रम खनालले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई आफ्नो पहिलो चुनावी मुद्दा बनाउनुभएको छ । “सुशासन कायम गर्दै नागरिकलाई सहज सेवा प्रदान गर्नु मेरो पहिलो काम हो, जिल्लाका अन्य विकास निर्माणका कामसमेत म यहीँको स्थानीय भएकाले समाधान गर्न सक्छु,” उहाँले भन्नुभयो ।
एमाले उम्मेदवार रामप्रसाद पाण्डेयले भने किसानलाई सिँचाइ व्यवस्था, युवालाई कृषि पेशासँग जोडी स्वरोजगार बनाउने र पर्यटकीय क्षेत्रको विकासको काम अगाडि बढाउने भन्दै मत मागिरहनुभएको छ ।