नवराज नेपाली
बागलुङ (गलकोट), फागुन १५ गते । आगामी चैत दोस्रो सातादेखि बागलुङमा चैत्राष्टमी मेलामा तीन लाख राशिको पुरुष खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।
कालिका भगवति व्यवस्थापन समितिको आयोजनमा आगामी चैत १० देखि १४ गतेसम्म मेला सञ्चालन हुने समितिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।
कार्यक्रमबारे जानकारी दिँदै खड्काले मेलाको अवसरमा भलिबल, लोक दोहोरी गीत, छेलो प्रतियोगिताका साथै रथ यात्रा, रमाइलो मेला बाल उद्यान सञ्चालन गरिने बताउनुभयो ।
‘गन्तव्य बागलुङ कालिका, स्थानीय उत्पादनको प्रवर्धन, कला संस्कृति र समृद्धिको आधार धार्मिक पर्यटन’ भन्ने मुल नाराका साथ बागलुङ नगरपालिका १ रामरेखामा रहेको कालिका बाल उद्यानमा मेला गरिने अध्यक्ष खड्काको भनाइ छ ।
प्रसिद्ध ऐतिहासिक कालिका भगवति मन्दिर तथा परम्परागत चैत्राष्टमी मेलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउन, बागलुङ जिल्लाको ऐतिहासिक धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदा र स्थानीय उत्पादनको संरक्षण र प्रवरधन् गर्ने लक्ष्य राखिएको छ ।
चैत्राष्टमी मेलाको अवसरमा हुने कालिका कप खुल्ला पुरुष भलिब प्रतियोगितामा प्रथम हुनेले तीन लाख रुपियाँ पाउनेछ । द्वितीयले एक लाख ५० हजार र सेमिफाइनल उपविजेताले ५० हजार रुपियाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार नगद प्रदान गरिनेछ ।
कालिका कप खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपियाँ पाउने छन् । द्वितीय हुनेले ५० हजार, सेमिफाइनल उप विजेता हुनेले १० हजार र सर्वोत्कृष्ट खेलाडीले पाँच हजार रुपियाँ पाउने छन् ।
राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा प्रथम हुनेले दुई लाख, द्वितीयले एक लाख, तृतीय हुनेले ५० हजार र सर्वोत्कृष्ट गायनलाई पाँच हजार रुपियाँ दिइनेछ । यसैगरी, छेलो प्रतियोगितामा विजयीले ३० हजार पाउने छने भने मेलामा रेष्टुरेन्ट प्रयोजनका लागि २० वटा स्टल राखिनेछ ।
मेलाका लागि करिब ५५ लाख रुपियाँ खर्च हुने बताइएको छ । खर्च व्यवस्थापनका लागि कालिका भगवति गुठीबाट २० लाख, सहआयोजक तथा प्रायोजक संस्थाहरुबाट ८ लाख रमाइलो मेलाबाट १३ लाख, विभिन्न क्षेत्रबाट आर्थिक सहयोग नौ लाख, स्टलबाट तीन लाख र दर्ता शुल्कबाट दुई लाख रुपियाँ सङ्कलन हुने अपेक्षा गरिएको प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।