प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन १५ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा सल्यानमा लागू गरिएको निर्वाचन आचारसंहिता उल्लंघनका २८ वटा उजुरी दर्ता भएका छन्। जिल्ला आचारसंहिता अनुगमन समितिका अनुसार हालसम्म २५ वटा मौखिक र ३ वटा लिखित गरी जम्मा २८ वटा उजुरी प्राप्त भएका हुन्।
अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माका अनुसार लिखित उजुरी दर्ता गर्न प्रक्रिया समय लाग्ने भएकाले अधिकांश उजुरी मौखिक रूपमा प्राप्त भएका छन्। स्थानीय अभियन्ता, सर्वसाधारण नागरिक तथा विभिन्न राजनीतिक दलका कार्यकर्ताबाट उजुरीहरू दर्ता भएका छन्।
उजुरीका विषयवस्तु हेर्दा स्थानीय तहका जनप्रतिनिधि आफैं आफ्नो पालिकाको प्रचारप्रसारमा सक्रिय देखिएको, सामाजिक सञ्जाल विशेषगरी फेसबुकमार्फत प्रचार सामग्री पोस्ट गरिएको, पोस्टर टाँसिएको तथा शिक्षकहरू नै प्रचारप्रसारमा संलग्न भएको जस्ता गतिविधि उल्लेख छन्। साथै आचारसंहिता लागू भइसकेको अवस्थामा नयाँ योजनाको शिलान्यास गरिएको र पालिकाका पदाधिकारीहरूले आफ्नै पालिकाभित्र सरकारी साधन–स्रोत दुरुपयोग गरी खुलेर प्रचारप्रसारमा संलग्न भएको आरोपसमेत उजुरीमा समेटिएको छ।
निर्वाचन आचारसंहिता लागू भइसकेपछि सरकारी स्रोत, साधन तथा पदको दुरुपयोग नगर्नु पर्ने स्पष्ट व्यवस्था भए पनि केही स्थानमा उल्लङ्घन देखिएको अनुगमन समितिले जनाएको छ। यस्ता गतिविधिले निर्वाचनको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठाउने भएकाले अनुगमन कार्यलाई थप प्रभावकारी बनाइएको बताइएको छ।
समितिले प्राप्त उजुरीका आधारमा आवश्यक छानबिन तथा कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै सबै सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गरी स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आग्रह गरिएको छ।