राधाकृष्ण डुम्रे
वालिङ,(स्याङ्जा) फागुन १५ गते । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्याङ्जामा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण दिन सुरु गरिएको छ ।
बिहीबार जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतम, क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत ऋषि पौडेल, प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल, सहायक प्रजिअ प्रेम सुवेदी, जिल्ला निर्वाचन अधिकारी श्रीराम थापा र प्रमुख कोष नियन्त्रक थमनारायण अर्याल लगायतले मतदान अधिकृतलाई प्रशिक्षण दिनुभएको हो ।
तालिममा निर्वाचन सुरक्षा र मतदानका क्रममा आइपर्ने सम्भावित समस्या समाधानका उपायबारे जानकारी दिइएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिनुभयो । जिल्लाका अतिसंवेदनशील, संवेदनशील आदि मतदान केन्द्रको प्रकृति र ती क्षेत्रमा अपनाउनुपर्ने चुनावी रणनीतिका बारेमा मतदान अधिकृतहरूलाई सचेत गराइएको उहाँको भनाइ छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्याङ्जामा १९९ मतदान स्थलका ३२२ मतदान स्थल तथा एक अस्थायी मतदान केन्द्र रहेका छन् । जिल्ला कारागारलाई अस्थायी मतदान केन्द्रका रूपमा तोकिएको छ ।
निर्वाचनका लागि ३ सय २३ मतदान अधिकृत र ३ सय २३ सहायक मतदान अधिकृत गरी ६ सय ४६ जना तथा केही जगेडा कर्मचारीलाई तालिम दिन सुरु गरेको हो । यसपटकको चुनावमा जिल्लाभर झण्डै दुई हजार कर्मचारी खटाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।
जिल्ला सदरमुकाममा भएको तालिममा अधिकृतहरुलाइ नमुना मतदान अभ्यास समेत गराईएको छ । अभ्यासमा मतदाता नामावली रुजु गर्ने, मतपत्र लिने, अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य मतदान गर्ने र मतपत्र पट्याउने विधिबारे प्रयोगात्मक प्रशिक्षण दिइएको मूख्य निर्वाचन अधिकृत गौतमको भनाइ छ ।
क्षेत्र नं. १ मा एक लाख ३० हजार ८८६ जना र क्षेत्र नं. २ मा एक लाख १७ हजार ९३० गरि स्याङ्जामा दुई लाख ४८ हजार ८१६ मतदाता रहेको निर्वाचन आयोेगले जनाएको छ ।
यसैबिच जिल्ला निर्वाचन अधिकारी थापाले स्वयंसेवकमार्फत फागुन ३ देखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।