सर्लाही समाचारदाता
सर्लाही, फागुन १५ गते । चुनावी प्रचारप्रसार र विवाहको समय एकैपटक पर्दा अहिले पन्चैबाजा बजाउने समूह पाउनै मुस्किल परेको छ । केही उम्मेदवारले उम्मेदवारी दर्तादेखि अहिले घरदैलोसम्म पनि पन्चैबाजाको समेत प्रयोग गरिरहेका छन् । यही बेलामा विवाहको अत्यधिक लगन रहेको छ ।
ईश्वरपुर नगरपालिका–१२, घारीबथानका कृष्ण परियारले दुई महिनादेखि पन्चैबाजाका लागि अत्यधिक माग आइरहेको बताउनुभयो । “चुनाव र विवाहको समय एकै पटक परेर होला अहिले जताततैबाट बाजाको माग भएको छ,” परियारले भन्नुभयो, “दुई महिनाअघि कुलपुजा (देवाल) मा पनि पन्चैबाजाको धेरै माग भएको थियो तर त्यसबेला पनि सबैतिर पुग्न सकिएन, अहिले त्यस्तै अवस्था छ ।”
बाजा बजाउने कोही चुनावमा त कोही जताततै विवाहमा व्यस्त हुँदा समस्या परेको लालबन्दी–७ का दीपेन्द्र कार्कीले बताउनुभयो । सर्लाहीमा ईश्वरपुर, लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुरलगायत स्थानमा एक दर्जनजति बाजा बजाउने समूह सक्रिय छ । नयाँ पुस्तामा आकर्षण नदेखिँदा पन्चैबाजा बजाउने काममा सीमित पुराना समूह मात्र सक्रिय रहेको छ ।