गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १५ गते । झपट पुरस्कार व्यवस्था समितिले चार जनालाई झपट पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
समितिका अध्यक्ष अरुण राणाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । सनत रेग्मी र राजेन्द्र थापालाई जनही एक/एक लाख रुपियाँ राशि तथा डा. गोपालप्रसाद शर्मा र डा. कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपियाँ राशिको झपट पुरस्कार प्रदान गरिने भएको छ । आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत सनत रेग्मीलाई झपट पुरस्कार प्रदान गर्न लागिएको समितिले जनाएको छ ।
यसै गरी शब्दमार्फत नेपाली भाषालाई जनप्रिय बनाउन उद्यत गीतकार जनरल राजेन्द्र थापालाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने डा. गोपालप्रसाद शर्मा र डा. कान्छी महर्जनलाई ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ प्रदान गरिने भएको छ ।
इन्दिरा प्रसाईको संयोजकत्वमा गठित प्राडा हेमचन्द्र नेपाल र प्राडा भरतकुमार भट्टराई सदस्य रहेको झपट पुरस्कार छनोट समितिले पुरस्कृत स्रष्टाको नाउँ सिफारिस गरेको हो ।