रमेश विश्वकर्मा
गुल्मी, फागुन १५ गते। गुल्मीका दस पालिकाले आज (शुक्रबार) सार्वजनिक बिदा दिएका छन्। दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमध्ये यहाँका दस पालिकाले सार्वजनिक सूचना जारी गरी ४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसर पारेर आज सार्वजनिक बिदा दिएका हुन्।
यस जिल्लाको रेसुङ्गा नगरपालिका, कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, इस्मा गाउँपालिका, मालिका गाउँपालिका र मदाने गाउँपालिकाले राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन्। पालिकाले कार्यालय, आफू मातहतका कार्यालयहरु, स्वास्थ्य संस्था, शिक्षण संस्था लगायत सङ्घसंस्थामा बिदा दिएका हुन्।
मगर समुदायको साहस, श्रम, सांस्कृतिक विविधता र सामाजिक योगदानले नेपाली समाजलाई समावेशी, सुदृढ र एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ। नेपालको प्राचीन, वीर र समृद्ध मगर समुदायको पहिचान, भाषा, संस्कृति, इतिहासको योगदानको सम्मानका लागि पालिकाहरुले सार्वजनिक बिदा दिएका हुन्। यहाँका विभिन्न स्थानमा मगर समुदायले आफ्नो मगर संस्कृति, परम्परा र गरिमा झल्काउने विविध कार्यक्रमहरु गर्ने बताइएको छ।