अमरराज नहर्की
तनहुँ, फागुन १५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले आज फागुन १५ गतेदेखि जिल्लाभर मदिराको बिक्री–वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सूचना जारी गर्दै आज फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम परिणाम नआएसम्मका लागि जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थहरूको बिक्री–वितरण र सेवनलाई पूर्ण रूपमा निषेध गरिएको जानकारी दिनुभएको छ ।
सार्वजनिक शान्ति र सामाजिक सद्भाव कायम राख्न चालिएको यस कदमको उल्लंघन गरी मदिराको कारोबार वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने र सुरक्षा निकायहरूबाट यसको कडाइका साथ अनुगमन गरिने प्रजिअ तिवारीले बताउनुभएको छ । निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणबाट पूर्ण सहयोगको अपेक्षा गरिएको प्रशासनले जनाएको छ ।
यसैगरी, प्रशासनले निर्वाचनको समयमा जिल्लामा अत्यावश्यक सामग्रीको अभाव हुन नदिन र अस्वाभाविक मूल्यवृद्धि वा कालोबजारी रोक्न बजारमा कडा निगरानी राख्ने भएको छ । पेट्रोलियम पदार्थका विक्रेताहरूलाई समेत संवेदनशील समयमा सुरक्षालाई ध्यानमा राखी बोतलमा इन्धन बिक्री नगर्न निर्देशन दिइएको छ ।