नाइजेरिया, फागुन १४ गते । उत्तर-पूर्वी नाइजेरियाको अदामावा राज्यमा भएका दुई वटा छुट्टै जिहादी आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको स्थानीय स्रोतलाई उदृत गर्दै एएफपीले बिहीबार जनाएको छ ।
क्यामरुनसँगको सीमावर्ती क्षेत्रका मडागाली र होङ सहरमा भएका आक्रमणको श्रेय बोको हराम जिहादीलाई दिइएको छ जसका लडाकु सन् २००९ देखि हिंसात्मक विद्रोहसहित यस क्षेत्रमा सक्रिय छन् । आक्रमणकारीले बजार लुटेर खानेकुरा र मोटरसाइकल चोरी गरेकोसमेत स्रोतले जनाएको छ ।
छिमेकी होङमा तीन सैनिकसहित अन्य चार जनाको मृत्यु भएको जनाइएको छ । गभर्नर आदामु उमारु फिन्टिरीले विज्ञप्ति जारी गर्दै आधिकारिक आक्रमणको निन्दा गर्नु भएको छ । विज्ञप्तिमा अपराधीलाई चेतावनी दिदै आक्रमणबाट टाढा रहन आग्रह गर्दै आक्रमणको पूर्ण सामना गर्नु पर्ने जनाइको छ ।
सन् २००९ देखि नाइजेरियामा जिहादी विद्रोह, मुख्यतया बोको हराम र यसको प्रतिद्वन्द्वी गुट, इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी)को नेतृत्वमा देशमा ४० हजार भन्दा बढी मानिस मारिएका छन् भने २० लाख विस्थापित भएका छन् । द्वन्द्व छिमेकी नाइजर, चाड र क्यामरुन सम्म फैलिएको छ, भने यी समूहसँग लड्न क्षेत्रीय सैन्य गठबन्धन गठन गरिएको छ । रासस/एएफपी