सन्तोष दहित
दाङ, फागुन १४ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिलेसम्म निर्वाचनमा अन्य दलसँग चुनावी तालमेलको विषयमा छलफल नभएको बताउनुभएको छ ।
दाङ निर्वाचन क्षेत्र २ को उम्मेदवार समेत रहनुभएका पोखरेलले पुराना दलबिच केही स्थानमा चुनावी तालमेल हुनसक्ने चर्चा चलिरहेकै बेला अहिलेसम्म त्यस्तो कुनै निष्कर्षमा पुगिनसकेको बताउनुभएको हो ।
बिहीबार चुनावी सङ्कल्पपत्र सार्वजनिक कार्यक्रममा उहाँले सामाजिक सञ्जालदेखि बजारमा आएको हल्लाजस्तो अहिलेसम्म त्यस्तो कुनै छलफल, निस्कर्ष नभएको उहाँको भनाइ छ । “अहिले सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा विभिन्न खालका समाचार आइरहका छन’, उहाँले भन्नुभयो, “अहिलेसम्म ती खबर सत्य होइन, दलहरूले समेत बोलेका छैनन् ।”
अहिले सबै दलले आफ्नो चुनावी केन्द्रीत प्रचारमा रहेकाले यसमा अहिलेसम्म छलफल नभएका महासचिव पोखरेललको दाबी छ । जबसम्म दलहरू आफै बोल्दैनन्, तबसम्म यी कुरा बाहिर आउन उचित ठान्दैन, उहाँले भन्नुभयो, “अहिलेसम्म हामी चुनावी तालमेलबारे हामी कुनै निष्कर्षमा पुगेका छैनौँ ।”
विभिन्न सञ्चार माध्यमहरूमा प्रमुख दलहरूको क्षेत्रमा चुनावी तालमेल हुँदै भन्न खबर आइरहेका छन् । विशेषगरी चितवन, झापा र दाङलगायतको क्षेत्रमा एमाले र नेकपाबिच तालमेल भन्ने चर्चा भइरहको छ।