• १४ फागुन २०८२, बिहिबार

काठमाडौँ उपत्यकाको विकासका लागि कांग्रेसका उम्मेदवारद्वारा 'भिजन १०' सार्वजनिक

blog

काठमाडौँ, फागुन १४ गते । संघीय राजधानी काठमाडौँ उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवारका तर्फबाट ‘नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिबद्धता पत्र: भिजन १०’ सार्वजनिक गरिएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा तीनवटै जिल्लाका उम्मेदवारहरूको भर्चुअल सहभागितामा सो प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।

प्रतिज्ञा पत्रमा तीनवटै जिल्लालाई एउटै सहरका रूपमा लिई स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । विश्वकै सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रूपमा उपत्यकालाई विकास गरिने उहाँले बताउनुभयो ।

उपत्यकाको वहन क्षमता बमोजिम सहरको व्यवस्थापन गर्दै बृहत्तर संघीय राजधानी पुनर्संरचना योजना कार्यान्वयन गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई सुदृढ एवं सक्षम बनाइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

यसैगरी, उपत्यकाको सडक यातायातलाई सहज, व्यवस्थित र अनुमानयोग्य बनाउन एकीकृत सहरी यातायात र 'स्मार्ट मोबिलिटी' नीति अवलम्बन गरिने विषयमा महामन्त्री पौडेलले चर्चा गर्नुभयो । मास ट्रान्सपोर्टसहितको सडक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थापन गर्दा पैदलयात्री, साइकल यात्री तथा सबै नागरिकको आवश्यकतालाई विशेष ध्यान दिँदै ‘वाकेबल सिटी’ का रूपमा विकास गरिने उहाँले बताउनुभयो ।

प्रतिज्ञा पत्रले उपत्यकाभित्रको प्रदूषण नियन्त्रणका लागि एकीकृत मापदण्ड तयार पार्नुका साथै सार्वजनिक तथा पुरातात्विक स्थलको संरक्षण एवं व्यवस्थापनका लागि एकीकृत योजना बनाइ कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो । 

यस्तै, उपत्यकाका नदीको संरक्षण, शुद्धीकरण तथा सौन्दर्यीकरणको एकीकृत योजना कार्यान्वयनमा ल्याउँदै आसपासका निकुञ्ज, सार्वजनिक वन तथा पार्कहरूलाई संरक्षण गर्दै आरोग्य जीवनशैलीका लागि उचित योजना कार्यान्वयन गर्ने विषयमा उहाँले धारणा व्यक्त गर्नुभयो ।

शिक्षा क्षेत्रलाई समयसापेक्ष, प्रविधिमैत्री र व्यावहारिक बनाउन आवश्यक गुणस्तरीय शिक्षामा सहज पहुँच सुनिश्चित गर्नुका साथै स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय एवं प्रविधिमैत्री बनाइ समग्र स्वास्थ्य प्रणालीलाई विश्वस्तरीय बनाउँदै लगिने कांग्रेस उम्मेदवारहरूको प्रतिज्ञा छ ।

प्रतिज्ञा पत्रले उपत्यकाको एकीकृत भू-उपयोग नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउँदै सहरी पूर्वाधार, भवन संहिता तथा ढल व्यवस्थापनसहितको पुनरुत्थान गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउने तथा विपद् व्यवस्थापनका लागि पूर्व चेतावनीसहितका कमान्ड सेन्टर सञ्चालनमा ल्याउने विषय समेटेको छ ।

बढ्दो बेरोजगारी, गरिबी तथा असमानता घटाउन रोजगारीका अवसर सिर्जना गर्ने, युवालक्षित रोजगारी तथा डिजिटल प्रविधि एवं 'आईटि' सँग जोडिएका उद्यमका विशेष कार्यक्रम सञ्चालन गर्ने विषयमा उम्मेदवारहरूले साझा प्रतिज्ञा गरेको कुरा महामन्त्री पौडेलले उल्लेख गर्नुभयो । सामाजिक सुरक्षाका प्याकेजमार्फत गरिबी निवारण तथा विद्यमान असमानता कम गरी उपत्यकावासीको जीवन सहज बनाउने र सुकुम्बासी एवं अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न विशेष योजना कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो ।

उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न कम्तीमा आगामी ५० वर्षको जनसंख्यालाई ध्यानमा राखेर बृहत्तर योजना निर्माण गर्दै भूमिगत जलसतहको अवस्था सम्बोधन गर्ने गरी जलभण्डारण तथा जलपुनर्भरण योजना तर्जुमा गरी कार्यान्वयन गरिने समेत उम्मेदवारहरूको प्रतिज्ञा पत्रमा समेटिएको छ ।

कार्यक्रममा बोल्दै महामन्त्री प्रदीप पौडेलले काठमाडौँ उपत्यकाको दिगो व्यवस्थापन र विकास कांग्रेसको प्राथमिकतामा रहेको बताउनुभयो । एक्ला-एक्लै भन्दा सामूहिकतामा प्रभावकारी हुने भएकाले एकीकृत विकासका लागि साझा प्रतिज्ञा गरिएको उहाँको भनाइ थियो । ‘यस प्रतिज्ञा पत्रले भावी दिनमा उपत्यकाको विकासमा एकजुट भएर काम गर्नका लागि मार्गनिर्देश गर्नेछ,’ उहाँले भन्नुभयो ।

प्रतिज्ञा पत्रमा काठमाडौँ १ का उम्मेदवार प्रबल थापा, काठमाडौँ २ का उम्मेदवार कविर शर्मा, काठमाडौँ ३ का उम्मेदवार रमेश अर्याल, काठमाडौँ ४ का उम्मेदवार सचिन तिमिल्सना तथा महामन्त्रीसमेत रहनुभएका काठमाडौँ ५ का उम्मेदवार प्रदीप पौडेलको प्रतिबद्धता छ ।

यसैगरी, काठमाडौँ ६ का उम्मेदवार कृष्णसबुज बानियाँ, काठमाडौँ ७ का उम्मेदवार प्रमोदहरि गुरागाईं, काठमाडौँ ८ की सपना राजभण्डारी, काठमाडौँ ९ की नानु बास्तोला तथा काठमाडौँ १० का उम्मेदवार हिमाल कार्कीको प्रतिबद्धता समेत छ । 

कांग्रेसका तर्फबाट भक्तपुर १ का उम्मेदवार किरण न्यौपाने, भक्तपुर २ का उम्मेदवार कविर राणा, ललितपुर १ का उम्मेदवार उदयशमशेर राणा, ललितपुर २ का प्रेमकृष्ण महर्जन तथा ललितपुर ३ का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले समेत प्रतिज्ञा पत्रमा प्रतिबद्धता जनाउनुभएको छ ।